काठमाडौं। डेढ अर्ब रुपैयाँको लागतमा बनाइएको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेजले पाउने भएको छ । विश्व बैंकको ऋणमा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले टेण्डर आह्वान गरेको थियो। गत साउन ९ गते टेण्डर आह्वान गरिएकामा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले आवेदन दिएका थिए। समितिका अनुसार प्राविधिक मूल्यांकनमा ट्रान्स नेपाल मात्रै पास भएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपाल मात्र पास भएकाले अब उसैले बन्दरगाह सञ्चालनको जिम्मा पाउने बताए। ‘प्राविधिकरुपमा ट्रान्स नेपाल मात्र पास भएकाले अब उसैले चोभार सुख्खा बन्दरगाह सञ्चालन गर्न पाउँछ,’ गजुरेलले बिजमाण्डूसँग भने ।
ट्रान्स नेपालले समितिसमक्ष आर्थिक प्रस्ताव पेस गरिसकेको छ। कम्पनीले बन्दरगाह ५ वर्ष सञ्चालन तथा व्यवस्थापनका लागि २ करोड ८८ लाख रुपैयाँको आर्थिक प्रस्ताव पेस गरेको गजुरेलले जानकारी दिए। ‘यो कम्पनीले २ करोड ८८ लाख रुपैयाँ कबोल गरेको छ,’ उनले भने, ‘मर्मत सम्भारदेखि सबै कम्पनीकै दायित्वभित्र पर्छ।’
उनका अनुसार आर्थिक प्रस्ताव छिट्टै खुलाएर ट्रान्स नेपालसँग सम्झौता गर्ने तयारी छ । बन्दरगाह २०७८ चैत अन्तिम साता सञ्चालनमा ल्याइएको हो। तर बन्दरगाह प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन। समिति नियमनकारी निकाय भएकाले उसले बन्दरगाह व्यवस्थापन गर्न मिल्दैन।
त्यही भएर निजी क्षेत्रलाई बन्दरगाह सञ्चालनको जिम्मा दिन लागिएको हो। पछिल्लो समय बन्दरगाहमा कार्गो आउन थालेको छ। ठेक्का पाउने पक्का भइसकेको ट्रान्स नेपालसँग बन्दरगाह सञ्चालन गरेको अनुभव छ। ट्रान्स नेपालले अहिले विराटनगर र काँकडभिट्टाको बन्दरगाह व्यवस्थापन गर्दै आएको छ। यो कम्पनीले भारतको अल कार्गो लजिस्टिक लिमिटेडसँग जेभीका रुपमा काम गर्दै आएको हो।
अनुभवी कम्पनी भएकाले ट्रान्स नेपालले चोभार बन्दरगाह प्रभावकारीरुपमा सञ्चालन गर्ने समितिको विश्वास छ।ट्रान्स नेपालले सन् २०२० अगस्टबाट विराटनगर आईसीपीको सञ्चालन र व्यवस्थापनको ठेक्का ५ वर्षका लागि पाएको थियो भने काँकडभिट्टाको ठेक्का सन् २०२१ फेब्रुअरीमा पाएको हो।
ट्रान्स नेपालका प्रबन्ध निर्देशक मुकेशकुमार राठी हुन् भने अल कार्गो लजिस्टिक लिमिटेडको अध्यक्ष आदर्श हेड्गे छन्। नेपालमा हाल ६ वटा सुख्खा बन्दरगाह सञ्चालनमा छन्। सिर्सिया सुख्खा बन्दरगाह प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालि, तातोपानी ट्रान्स सिल्क टर्मिनल र भैरहवा अन्नपूर्ण टर्मिनल्सले सञ्चालन गर्दै आएका छन्।