काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट भेप बरामद गरिएको छ।
हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको संयुक्त टोलीले बस जाँचका क्रममा भेप सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका११, थानाभर्याङमा सुरक्षा जाँचका क्रममा काठमाडौंबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट भेप र पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी सीताराम रिजालले बताए।
एसपी रिजालका अनुसार बसमा यात्रुको सीटमाथि सिलिङको भागमा ‘फल्स बटम’ बनाइएको छ। त्यसभित्र भन्सार छलेर ल्याइएका सरसामान राख्ने गरेको पाइएको छ। भेप पनि त्यसैभित्र पाइएको रिजालले बताए।
बसमा लुकाएर लगिरहेको अवस्थामा ५८ कार्टून भेप फेला परेको एसपी रिजालले बताए। त्यसको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ।
भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका(२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका(११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी, ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका(१६ का २९ वर्षीय राजकुमार हिमाङलाई पक्राउ गरेको छ।
एसपी रिजालका अनुसार उनीहरूले काठमाडौंको बालाजु बसपार्कभन्दा केही माथि भत्केको पुल क्षेत्रबाट बसमा सामान राखेको पाइएको छ। बसको छतमा पहिले नै ‘फल्स बटन’ बनाइएको थियो।
यो बस आधिकारिक रूपमा काठमाडौं(दिल्ली चल्ने भने नभएको उनले बताए। केही व्यक्तिले एक महीनाअघि मात्रै भाडामा लिएका थिए। उनीहरूले असार ५ गते मात्रै यात्रुलाई भारत घुमाउने भनेर काठमाडौंस्थित भारतीय दूतावासबाट रोड पर्मिट लिएको पाइएको एसपी रिजालले बताए।
बसमा केही भारतीय यात्रु सवार थिए। उनीहरूलाई विभिन्न मान्छे मार्फत सम्पर्क गरेको पाइएको छ। पक्राउ परेका केही व्यक्ति यसअघि पनि अवैध सामान ओसारपसारमा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ।