काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।
उक्त प्रोत्साहत भत्ता नगरक्षेत्रमा स्थायी बसोबास गरेर पहिचान खुलेकाहरूलाई दिन लागिएको हो ।
तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएकाहरूलाई आर्थिक वर्ष २०८१र८२ देखि मासिक ५ हजार दिने भएको हो ।
नगरप्रमुख कृष्णहरि महर्जनले संविधानको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ता दिन लागिएको जानकारी दिए ।
नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।
संविधानको परिकल्पनाअनुरुप नगरपालिकाले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको महर्जनले बताए ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम गरी हिंसामुक्त समाज बनाइने उनले बताए ।
नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था बनाएर व्यावसायिक विकास, सीपमूलक तालिम चलाइने बताए ।