नेपालमा मनसुन भित्रिएसँगै ठुला सहरमा डेंगीको जोखिम बढेको विज्ञहरूले बताएका छन्। पानी परेपछि डेंंगी फैलाउने लामखुट्टे एडिस एजिप्टाईको वृद्धि सहरी क्षेत्रमा बढी हुने भएकाले महामारीकोे जोखिम सहरमै बढी रहेको विज्ञहरूले औंल्याएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गरेर यो वर्ष तुलनात्मक रूपमा बढी पानी पर्ने भएकाले डेंगीको जोखिम बढी भएको जनाइसकेको छ। यही जोखिमअनुसार सचेत रहन आम नगारिकलाई अपिल गरिएको छ।
स्वास्थ्य विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोेग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सहरमा घना बस्ती हुने, ठुल्ठुला ड्रममा पानी संकलन गरेर पानी राखिने, होटेल तथा कार्यालयहरूमा गमलाका फूलदानी राखिने हुँदा डेंगी फैलाउने लामखुट्टे वृद्धि हुन्छ।
त्यसैगरी गाडीका टायर, पानी जम्ने बट्टा र पानी जम्मा हुने खाल्डाखुल्डी धेरै हुने भएकाले पनि त्यसता लामखुट्टेको वृद्धि सहरमै बढी हुन्छ। वृद्धि भएका लामखुट्टेले घना बस्ती भएको ठाउँमा धेरै जनालाई टोक्छ र संक्रमण पनि धेरै जनामा हुन्छ। ‘सहरमा घना बस्ती हुन्छ, त्यसकारण छिटो डेंगी फैलिने जोखिम हुन्छ,’ कीटजन्य रोग शाखाका प्रमुख डा। दाहालले भने।
विगतका वर्षहरूमा पनि सहरी क्षेत्रमै डेंगी संक्रमण बढी फैलिएकाले यो वर्ष पनि अवस्था त्यस्तै हुने उनको अनुमान छ। त्यसैगरी मनसुन लामो समय रहेर रोकियो भने डेंगु संक्रमणको जोखिम कम हुन्छ। तर दुई–तीन दिन पानी पर्ने, पाँचरसात दिन घाम लाग्ने भएको अवस्थामा एडिस एजिप्टाई लामखुट्टेको वृद्धि र डेंगी संक्रमणको जोखिम बढी हुन्छ।
इपिडिमोलोजी महाशाखाको पछिल्लो तथ्यांकअनुसार नेपालमा ७२ जिल्लामा १ हजार २ सय ६८ जनामा संक्रमण भइसकेको छ। जनवरीदेखि जुन अर्थात ६ महिनाको अवधिमा उल्लिखित संख्यामा डेंगी संक्रमण पुष्टि भएको हो।
एक साताको अवधिमा थप २७ जनामा डेंगी भएको महाशाखाको तथ्यांकले देखाएको छ। पछिल्लो समय देशभरिमा १० वटा जिल्लामा उल्लेखनीय संंख्यामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांकले कुनै निश्चित भागमा धेरैको संख्यामा डेंगी संक्रमण पुष्टि नभए पनि पानी परेपछि जोखिम बढ्ने विज्ञहरूको दाबी हो। ‘अबको दुईरतीन साताभित्र कुनै न कुनै क्षेत्रमा डेंगी संक्रमण ह्वात्तै बढ्न सक्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा। शेरबहादुर पुनले भने।
लामखुट्टेको वृद्धि भए पनि विभिन्न उपायबाट यसको टोकाइबाट बच्न सकिने डा। दाहालको भनाइ छ। जस्तो कि घरको झ्यालढोकामा जाली राख्ने, शरीर पुरै छोप्ने लुगा तथा जुत्ताको प्रयोग गर्ने, लामखुट्टे बढ्न नदिन गमलाको थाली सफाइ गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनेलगायत सावधानी अनपाउनाले पनि लामखुट्टेको टोकाइ र डेंगी संक्रमणबाट जोगिन सकिन्छ। साथै घरमा पानी जम्मा गर्ने भाँडा राम्रोसँग छोेप्ने, घरवरपर पानी जम्ने भाग पुर्ने या सफाइ गर्ने गर्दा पनि डेंगीको लामखुट्टे फैलन पाउँदैन।
यदि डेंगी संक्रमण भए उच्च ज्वरो आउने, टाउको दुख्ने, राता बिमिरा आउने, वाकवाकी लाग्ने, बान्ता हुने, गिजाबाट रगत आउने, पेट दुखाइ र श्वासप्रश्वासमा समस्या आउनेजस्ता लक्षण देखिन्छन्। यीमध्ये कुनै पनि लक्षण देखिए आराम गर्ने, नरम खाना खाने, लक्षणअनुसारको उपचार गर्ने गर्नुपर्छ। अरूलाई संक्रमण नहोस् भनेर बिरामी झुलभित्र बस्ने गर्नुपर्छ।
डेंगी संक्रमणका कारण आन्तरिक रक्तश्राव भई रगतमा प्लेटलेटको मात्रा कम हुन्छ। कमजोरी महसुुस भए वा धेरै दिन ज्वरो आए नजिकको अस्पताल गई उपचार गर्न, सेतो रगतको मात्रा जाँचेर सोहीअनुसार उपचार गराउन चिकित्सकहरू सुझाउँछन्।