रोल्पा – रोल्पा अस्पतालमा असार ७ गतेदेखि संचालन भइरहेको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया(अप्रेसन)शिविरमा तीन जिल्लाका महिलाले सेवा पाएका छन् । मंगलबारसम्म करिब ९० जनाको पाठेघरको अप्रेसन गरिएको छ । रोल्पा अस्पतालमा आयोजना गरिएको पाठेघर खसेका महिलाको निःशुल्क अप्रेसन शिविरमा भेला भएका महिला । तस्बिर स् काशीराम डाँगीरकान्तिपुर
लुम्बिनी प्रदेश सरकारको आयोजना, रोल्पा अस्पतालको व्यवस्थापन र कोहलपुर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरमा रोल्पा, रुकुम पूर्व र प्यूठान जिल्लाबाट पाठेघर खस्ने समस्याबाट ग्रस्त महिलाले सेवा लिन आएका छन् ।
रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीका अनुसार शिविरमा नेपालगन्ज मेडिकल कलेजका ६ जना चिकित्सक शिविरमा खटिएका छन् । दैनिक रुपमा कम्तीमा २२ महिलाको पाठेघरको अप्रेसन हुने गरेको रोल्पा अस्पतालका चिकित्सक डा प्रमोद कट्टेलले बताए ।
तीन जिल्लामा वर्षौंदेखि पाठेघर खस्ने समस्या भोगिरहेका महिलाहरुको पहिचान गर्न विभिन्न चरणमा गाउँगाउँमा शिविर संचालन गरिएको थियो । रुकुम पूर्व, रोल्पा र प्यूठानमा गरी करिब डेढ सय महिलामा पाठेघर अप्रेसन गर्नुपर्ने समस्या रहेको पाइएको थियो । सुरुमा १ सय ३० महिलाको पहिचान भएकोमा संख्या थप भएकाले शिविर संचालनको समय पनि थप गरिएको छ । शिविरको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले गरेको थिए ।
शिविरमा रोल्पा अस्पतालका चिकित्सकसहित नेपालगन्ज मेडिकल कलेजका चिकित्सकहरु डा। सुरेशकुमार कनौडिया, डा। विनोद महासेठ, डा। महेश शर्मा, डा। ध्रुवराज कार्की, डा। कीर्ति बेल्वासे, डा। अस्मिता नेपाल, डा। शेरबहादुर साउद र शिविर संयोजक रामबहादुर मल्ल खटिएका छन् ।
शिविरमा २९ वर्ष ८० वर्षसम्मका महिलाले पाठेघरको अप्रेसन गराएको रोल्पा अस्पतालका अध्यक्ष शेरबहादुर थापाले बताए ।