वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा। मुक्तिनारायण साहका अनुसार, वीरगञ्ज महानगरपालिका–९, रानीघाटमा बसोबास गर्दै आएकी एक महिलामा काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको हो।
डा। साहले भने, “कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ। वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ।” उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षण गर्न पनि अनुरोध गरेका छन्।
त्यस्तै, पछिल्लो तीन महिनामा पर्सामा नौजना डेंगुका बिरामी भेटिएका छन्। तीमध्ये सात जना वीरगञ्ज महानगरभित्रका र अन्य दुईजना ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकाका रहेका छन्। डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो, जसको विषाणु सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्दछ। डा। साहका अनुसार, यो रोग ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी फैलिएको छ।
कालाजार भने भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो। भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्छ। यो रोग झापा देखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्ट मात्र देखिएको छ भन्ने कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले कालाजार र डेंगु जस्ता सरुवा रोगहरूको रोकथाम र नियन्त्रणमा सक्रियता अपनाउन सुझाव दिएका छन्। स्थानीय स्वास्थ्य स्वयंसेविकाहरूलाई सचेत गराउन र लामो समयदेखि ज्वरो आएका बिरामीहरूको परीक्षण गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।