काठमाडौं : अहिले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ ।जसका कारण देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
बागमती र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
मुलुकका अधिकांस स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २५ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा ४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै पोखरमा १५४ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।