१८ असार,काठमाडौं। नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो।
सोमबार अध्यक्ष ओली र कांग्रेस सभापति शेर बहादुर देउवाले आलोपालो सरकार चलाउने गरि सहमति भएको बताइएको छ। सहमति अनुसार ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्नेछन्।
ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालय ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र बाँकी मन्त्रालय अन्य दलका लागि राखिने बताईएको छ।
प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।
त्यस्तै दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सहमति समेत भएको छ। त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको हो।
यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ ।
यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो ।
कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेललाई विश्वासमा लिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् ।