वीरगञ्ज : जंगलको नजिक रहेका पर्साका बस्तीहरूमा बाघको आतंक बढेको छ। पछिल्लो केही महिनादेखि जिल्लामा रहेको राष्ट्रिय बनसँग सिमाना जोडिएको ग्रामिण भेगका पालिकामाहरू लगातार रुपमा बाघले स्थानीयहरूलाई आक्रमण गरिरहेको छ।
पर्सामा जंगलसँग सिमाना जोडिएको पर्सागढी नगरपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिकामा बाघले स्थानीयहरूलाई बढी आक्रमण गरेको पाइएको छ।
गएको पुस ८ गते पटेर्वा सुगौली गाउँपालिका( २ का स्थानीय मनोज महतो उरावको बाघले आक्रमण गरी ज्यान नै लिएको थियो। यस्तै शनिबार वडा नम्बर २ कै बँकुल टोल निवासी ६५ वर्षीय रामेश्वर राउत उराव बाघको आक्रमणबाट घाइते भएका हुन्। आफ्नो खेतबारीको गहुँ खेत हेर्ने जानेक्रममा अचानक जंगली बाघले आक्रमण गर्दा उनी घाइते भएका थिए।
बितेको बिहीबार सोही वडामा दुई पटकमा दुई जनालाई बाघले आक्रमण गरी घाइते बनाएको छ। आफ्नो पालिकामा बढी बाघले आतंक मच्चाइरहेको तथा यस समबन्धी बन कार्यालय निकुञ्जको कार्यालयलाई जानकारी गराउँदा पनि हालसम्म ठोस पहल भने हुन नसकेको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बताइन्। गाउँपालिकाले धेरथोर पिडीतहरुलाई राहत दिन सक्ने तर त्यस भन्दाबढी बन र निकुञ्जले नै गर्नुपर्ने उनको भनाई छ।
बाघको आतंक पर्साको जंगलसँग सिमाना जोडिएको पालिकामा बढेको कुरा शनिबार नै सखुवा प्रसौनी गाउँपालिका( २ रामभौरीमा एउटा पाटे बाघ खेतमा मृत अवस्थामा फेला परेकोले पनि पुष्टि हुन्छ। शनिबार बिहान गाउँपालिकाको वडा नम्बर २ रामभौरी टोलदेखि पूर्वतर्फ खेतमा मृत अवस्थामा रहेको एउटा पाटे बाघ भेटिएको वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जानकारी दिए।
बाघ अहिले दैनिक रुपमा पर्साको जंगलसँग सिमाना जोडिएका पालिकाको आसपास देखापरिरहेको छ। पटेर्वा सुगौलीको टोलमा बाघको आतंक बढिरहेकोले यसलाई नियन्त्रण गर्नको लागि बन र निकुञ्जको कार्यालयसँग गादीमाई साझेदारी बन ब्यावस्थापन समूहका अध्यक्ष सहरुम गदीले आग्रह गरे। उनले सकेसम्म बाघको आक्रमणबाट बच्न अहिले जंगलतर्फ नजान नै स्थानीयबासीसँग अनुरोध पनि गरे।
पर्सामा बाघको आक्रमण बढेको भन्ने गुनासो आएको बताउँदै बाघलाई नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जलाई पत्र लेखेर डार्ट टोली मगाइएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए। निकुञ्जबाट टोली आएपछि ट्रयाप गर्ने क्यामेरा जडान गरिने तथा डार्ट गर्न परे डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिने उनले बताए।
गत वर्ष गरिएको गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा हाल ४१ वटा पाटे बाघहरू रहेका छन्। १२ वर्ष अघिसम्म तीन वटा मात्रै बाघ रहेको निकुञ्जमा संरक्षणको क्षेत्रमा प्रयासहरू निरन्तर भएपछि बाघको संख्या बढेको बताइएको छ। बाघको संख्या बढेसँगै उनीहरूले मानव वस्तीमा समेत हस्तक्षप गर्न थालेका छन्।