मौसम विज्ञान विभागले विगतको तुलनामा यसपालि मनसुनी वर्षा अत्यधिक हुने अनुमान गरेबमोजिम सुरुवाती चरणमै मुलुकभर अत्यधिक पानी परेको छ । शुक्रबार साँझदेखि शनिबारसम्म झन्डै २४ घण्टा अविरल वर्षा भएपछि विभिन्न जिल्लामा मानवीय मृत्युका साथै जनजीवन अस्तव्यस्त बनेको छ । यसअघि मनसुन सक्रिय नहुँदासमेत विभिन्न जिल्लामा बाढीपहिरोमा परी ९ जनाले ज्यान गुमाइसकेका थिए । अहिलेको अविरल वर्षाबाट त्रस्त नहुने कोही छैन ।
लामो समय परेको पानीले मुलुकका सबैजसो राजमार्ग प्रभावित भएका छन्, पहिरो सडकमा खसेका कारण यात्रु अलपत्र परेका छन्, मालवाहक सवारीसाधनले सामान गन्तव्यमा पुर्याउन सकेका छैनन् । काठमाडौं उपत्यका जलमग्न भएसँगै कतिपय खोला किनारका सुकुम्बासी बस्ती बगेको छ ।
भक्तपुर जिल्लाको हनुमन्ते खोलाको पानी बस्तीमा पसेपछि हाहाकार मच्चिएको छ । पछिल्लो १–२ दशकको बीचमा खोलानालामाथि ढलान गर्ने क्रम बढेको, प्राकृतिक बहावमाथि रोकावट आएसँगै बाढी सडक, बस्तीमा पस्ने गरेको यथार्थ कसैबाट लुकेको छैन ।
सरकारसँग बाढी नियन्त्रण, व्यवस्थापन गर्ने दूरगामी दृष्टिकोण, रणनीतिक कार्यक्रम नहुँदा मेलम्ची खानेपानी आयोजनास्थल क्षतविक्षत भएको, मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खन्याउँदासमेत समस्या ज्युँका त्युँ रहेको, उक्त आयोजना दन्त्यकथाजस्तो बनेको यथार्थ क–कसका निम्ति पीडादायी नहोला र रु
बाढीपहिरोले गरेको क्षतिलाई सडक, नदी किनारका अव्यवस्थित बस्ती, जंगल, जमिन, बालुवा, गिट्टीको चरम दोहन, डोजरे विकासले पहाडी भागलाई क्षतविक्षत बनाएकोलगायत सन्दर्भसँग जोड्नैपर्ने हुन्छ । नेपालमा छरिएर रहेका राष्ट्रिय निकुञ्ज, आरक्षित क्षेत्रमा बाढीपहिरोको क्षति नगण्य रहेको यथार्थ बुझेर सरकारले पर्वतीय विकासको नवीन अवधारणा ल्याउन सकेको पाइँदैन ।
मनसुनी वर्षाले बर्सेनि अपूरणीय क्षति पुर्याउने यथार्थ बुझेर पनि सत्ताधारी ९ महिनासम्म हात बाँधेर बस्ने अनि मनसुन सुरु भएपछि सलबलाउने प्रवृत्ति भविष्यमा घातक नहोला भन्न सकिँदैन ।