विराटनगर । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ९एसपी० नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका(२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका(१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ ।
मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए । ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’
घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’
प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ ।