काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।
महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल पछि साधारण सदस्यमात्रै रहने गरी अन्य जिम्मेवारीबाट हटाउने निर्णय लिएको हो ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको सो पार्टीले जनाएको छ । असार १९ बसेको केन्द्रीय समितिले उनलाई १ साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिने निर्णय पनि रास्वपाले गरेको छ । त्यस्तै, ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व पार्टीले नलिने भएको छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनुपहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिनेमा रास्वपा केन्द्रीय समिती एक मत भएको बैठकका सहभागि नेताहरूले बताएका छन् । ।
रविको क्लबबाट निष्काशित भएको हुँ: मुकुल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।
'रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।'
पार्टी सह- प्रवक्ता मनिष झाले केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको सदस्य मात्रै रहनेगरी सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिए। उनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा ढकाललाई जिम्मेवारीमुक्त गरिएको बताए।