क्यानडालाई टाइब्रेकर (पेनाल्टी सुटआउटमा) हराउँदै उरुग्वेले अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी टाइब्रेकरबाट लिइएको थियो । जसमा उरुग्वेले ४–३ गोलको जीत दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो ।
अर्थ क्यारोलिनामा आइतवार बिहान भएको खेलमा रोड्रिगो बेन्टानकुरले आठौँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । तर खेलको २२ औं मिनेटमा क्यानडाका इस्माएल कोनेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ८० औं मिनेटमा क्यानडाले अग्रता लियो । जोनाथन डेविडले गोल गर्दै जीततर्फ अग्रसर गराएका थिए । तर अतिरिक्त समयमा लुइस सुवारेजले गोल गर्दै खेल बराबरीमा ल्याएर क्यानडालाई निराश पारे ।
त्यसपछि खेल टाइबेकरमा गएको हो । टाइब्रेकरमा क्यानडाको तेस्रो प्रहारमा कोने चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोसेटले बचाए ।
उरुग्वेका लागि फेडेरिको भालभर्डे, बेन्टानकुर, जर्जियन डे आरासेटा र लुइस सुवारेजले गोल गरे । क्यानडाका पनि जोनाथन डेविड, मोइस बम्बिटो र म्याथ्यू चोइनेरले गोल गरेका थिए । तर तेस्रो प्रहारमा कोने र पाँचौमा अल्फोन्सो डेभिस चुक्दा टोलीले हार बेहोर्न पुग्यो ।
उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग तथा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएका थिए ।
प्रतियोगिताको फाइनल खेल सोमवार बिहान हुँदैछ । जहाँ उपाधिका लागि साविक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् ।