जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आइतवार वीरगञ्जस्थित होटल क्लासिक ब्याङ्क्वैटमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यक्रममा महिलासँगै दलित तथा अन्य समुदायको सहभागितालाई समावेशीमुलक बनाउन आग्रह गरे । वीरगञ्ज महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरीरहेको दाबी गर्दै उनले सेवा प्रवाहका मामिलामा कुनै सम्झौता नगर्न पनि सरोकारवालालाई सचेत गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिक मैत्री सेवा नै प्रशासनको प्राथमिकतामा रहेको बताए । प्रहरी र प्रशासनको सहकार्य र समन्वयमा मुद्दा मामिला तथा उजुरीको छिनोफानो हुने गरेको उनले जानकारी गराए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले राजस्व चुहावटको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरीरहेको बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरी बीचको समन्वयात्मक भूमिकामा भन्सार छली तथा चोरी पैठारी जन्य कार्यमा नियन्त्रण भएको उनको दाबी छ ।
नागरिकका समस्या तथा प्रहरीप्रतिको बुझाई बारे स्पष्ट हुन नागरिक सुनुवाई कार्यक्रमको आयोजा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । नागरिकबाट आएका विभिन्न गुनासोको सम्बोधन गर्दै प्रहरी उपरीक्षक ढुङ्गेलले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । प्रहरीका बारेमा सेवाग्राहीको धारणा बुझ्ने र यसबाट भाबी रणनीति र योजना तय गरी अघि बढ्ने उनको भनाई छ ।
सीमित स्रोत साधन तथा अन्य कारणले गर्दा प्रहरीको कामकारवाही प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए । क्यासिनोको विषयमा आएको जिज्ञासाका बारेमा बोल्दै उनले भारतीय आधार कार्ड तथा रासन कार्ड प्रयोग गरेर क्यासिनो जाने गरेको हुँदा समस्या भएको बताए ।
यद्यपी प्रहरीले यस विषयलाई गम्भिरपूर्वक लिएको पनि उनको भनाई छ । अपराध अनुसन्धान तथा शान्ती सुव्यवस्था कायम गर्नका लागि नागरिक र प्रहरीले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल, सञ्चार उद्यमी ध्रुब साह, निखिल पासवान, राधा शर्मा लगायतले विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले प्रहरी कार्यालयमा नागरिकको पहुँच नपुगेको र कार्यालयमा पुग्नेहरुलाई पनि सम्मानजनक रुपमा व्यवहार नभएको गुनासो गरेका थिए ।
कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक नीता थापाले गरेकी थिइन् ।