कालिकोट — गएरातिको भीषण वर्षाले कर्णाली राजमार्ग र करिडोरमा ७ ठाउँमा पहिरो गएको छ । पहिरोले राजमार्ग र करिडोर पुनः अवरुद्ध भएको छ । एक साताअघि ५ दिन अवरुद्ध भएर खुलेको राजमार्ग गएरातिको वर्षाले पुनः अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध हुँदा मुगु, हुम्ला, बाजुरा, जुम्ला र कालीकोटबाट सुर्खेत तर्फ जाने र सुर्खेतबाट आउँदै गरेका सयौं सवारी र यात्रु बाटोमा अलपत्र छन् ।
आइतबार राति ९ बजेदेखि बिहानसम्म भएको वर्षाले कर्णाली राजमार्गको गगने खोला, हुल्म, टाकुल्ला, बिर्तामोड, बिहानी, छेकालगायतका ठाउँमा पहिरो गएको छ भने कर्णाली करिडोरको रेगिंल, भात्तडी, भुराबगरलगायतका ठाउँमा पहिरो गएको छ ।
डीएसपी अर्जुन केसीका अनुसार मेसिन लगाएर केही ठाउँको पहिरो हटाइए पनि गगनेखोला, बिर्तामोड, रेगिंललगायतका ठाउँमा पहिरो हटाउने काम भइरहेको छ । उनले दिउँसोसम्म करिडोर र राजमार्ग दुर्व सुचारु गर्न सडक डिभिजन कार्यालय र प्रहरीको टोली साइडमा खटिएको बताए ।
सुर्खेत जान बिहान घरबाट हिँडे पनि दिउँसो १२ बजेसम्म हुल्ममै अड्किएको सुर्खेत जान लागेका खाँडाचक्र–३ का नरेन्द्र पाण्डेले गुनासो पोखे । ‘जहिले पनि पहिरोले दुःख दिन्छ,’ उनले भने, ‘बेलुकी सुर्खेत पुग्ने ठेगान छैन ।’ उनी घरायसी कामका लागि ३ दिन अघि सुर्खेतबाट कालकिोट आएका थिए ।
कालीकोट र दैलेखको सिमानामा पर्ने गगने खोलामा पानी पर्ने वित्तिकै माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध हुने गरेको प्रजिअ गणेश नेपालीले बताए । उनले हुल्मबाट पहिरो सफा गर्दै मेसिन डोजर गगने खोला पुगेर पहिरो पन्छाउन लागि सकेकोले बेलुकीसम्म खुल्ने साभावना रहेको जानकारी दिए ।