झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।
विगत १४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७र६८ देखि आव २०७९र८० सम्म एक–दुई र आव २०७५र७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु भएका चार जनाका परिवारले १० लाखका दरले ४० लाख र अन्य क्षति ९घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको० बापत ३० लाख क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउँछन् ।
हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेका उनी बताउँछन् । गत आवमा जिल्लामा हात्तीपीडितका लागि एक करोड ५० लाख राहत माग गरिए पनि ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउँछन् । विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।
पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए ।