अमेरिकामा मानव तस्करी गर्न खोजेको आरोप लागेपछि उपसभामुख इन्दिरा रानाले मुख खोलेकी छिन् । प्रष्टीकरण दिँदै उनले सदन र पदको गरिमामा आँच आउने गरी कुनै काम नगरेको र नगर्ने बताएकी छिन् ।
रानाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले अमेरिकी भिसाका लागि अमेरिकन दूतावासलाई पत्र नलेखेको स्पष्ट पारेकी छिन् ।
‘यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्थामा मसँगै उक्त कार्यक्रममा सहभागी भएर जान निमन्त्रण आएको रहेछ,’ राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैंले नेपालस्थित अमेरिकी दूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ ।’
सन् २०२३ को मार्चमा यूएन कमिसन अन स्टाटस अफ वुमेन सम्मेलनमा सहभागी हुन जाने बेलामा रानाले अन्य तीन जनालाई भिसा दिन नेपालस्थित अमेरिकन दूतावासमा पत्र पठाएको आरोप उनीमाथि लागेको छ ।
सरकारको प्रतिनिधित्व गरेर गएकी रानाले आफूसँग सरोकारै नरहेका व्यक्तिलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएर पदीय गरिमामा ख्याल नराखेको भन्दै चौतर्फी आलोचना शुरू भएको छ ।
आलोचनाबीच रानाले प्रष्टीकरणमा भनेकी छिन्, ‘भिसा दिने वा नदिने स्वः निर्णय अमेरिकी दूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम नै गर्ने हो, मैले कसैको भिसाका लागि अनुरोध गरेको पनि छैन ।’
उपसभामुख रानामाथि गम्भीर आरोप बाहिर आएपछि सभामुख देवराज घिमिरेले समेत चासो लिँदै बुझ्ने प्रयास गरेका छन् ।रानाले पत्र लेखेको स्वीकार गर्दै करूण भावले मात्रै सहयोग गर्न खोजेको बताएकी छिन् ।
‘मैले करुणा भावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अनैतिक कार्य मबाट भएको छैन ।’