वीरगन्ज, ०५साउन– पहिरोसंगै खसेर त्रिशुली नदीमा बेपत्ता बसका यात्रु र चालकको पत्तो लाग्न नसकेपछि परिवारजन र आफन्तले अब आफना मान्छे जीउँँदै होलान् भन्ने आस मारेका छन् । त्रिशुलीममा बस खसेको सात दिन बित्दा अहिलेसम्म ६२ मध्ये पर्साका १० र बाराका ६ गरी १६ जना परे । तीमध्ये एन्जल डिलक्स बसमा १५ र गणपति बसमा १ जना सवार थिए ।
शुक्रबार साँझ सम्म ती १६ मध्ये दुई जनाकोमात्र शव भेटिएको छ । बाँकी १४ जनाको कुनै अत्तोपत्तो छैन ।यस्तै दुवै बसपनि अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
घटना भएको यतिका दिनसम्मपनि अत्तोपत्तो लाग्न नसकेपछि दुर्घटनामा परेका पर्सा र बाराका यात्रु र चालक जिवित नरहेको ठहर गरेर उनिहरुका परिवारजन र आफन्तले आफनो धार्मिक रितिरिवाज अनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न थालेका छन् ।दुर्घटनामा परेका पर्सा र बाराका १६ मध्ये शुक्रबार साँझ सम्म शव नभेटिएका १४ मध्ये ९ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
शुक्रबारमात्रै एन्जल बसका चालक पर्साको वीरगन्ज–१६ का ३६ वर्षिय जवाहीर महतो, बाराको कलैया–१४ की स्वास्थ्यकर्मी २५ वर्षिया सृष्टि यादव र बाराकै देवताल–३ का २२ वर्षिय अरबिन्द पण्डित दुबेको कुशको शव बनार अन्त्येष्टि गरेका छन् ।
यस्तै दुर्घटनामा एकै परिवारका तीन जना परेका पर्साको सखुवा प्रसौनी–३ का ५८ वर्षिय हृदयनारायण राउत चौधरी र उनकी पत्नि ५३ वर्षिया कुसमी देवीकोपनि शव नभेटिएपछि बिहीबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ । उनिहरुका छोरी २८ वर्षिया चन्द्रप्रभा कुमारी चौधरीको भने शव गत बुधबार दुर्घटनास्थल भन्दा १०३ किलोमिटरको दूरीमा भेटिएको थियो । त्यहिदिन उनको देवघाटमा अन्त्येष्टि गरियो ।
यस्तै एन्जल बसमै सवार रहेका बाराको प्रसौनी–१ का ५५ वर्षिय ताराचन्द पटेल र उनकी पत्नि ५० वर्षिय कुसमी देवीकोपनि शव नभेटिएपछि परिवारजन र आफन्तले गत बुधबार नै पटेल दम्पतिको कुशकोे छुट्टा छुट्टै शव बनाएर दाहसंस्कार गरिसकेका छन् ।
पर्साको बहुदरमाई– ८८ का १९ वर्षिय सुजित कुमार साह र उनका सहपाठी त्यही गाँउका २१ वर्षिय ओमहरी यादवकोपनि कुनै अत्तोपत्तो लाग्न नसकेपछि परिवारजनले गत मंगदबाल कुशको शव बनाएर अन्त्येष्टि गरे ।
एन्जल बसमा सवार बाराको विश्रामपुर– ३ का ४० वर्षिय परमानन्द पण्डितको भने शव भेटिएको थियो ।उनकोपनि अन्तिम दाहसंस्कार भइसकेको छ ।
गणापति बसमा सवार बाराकै जीतपुरसिमरा–१६ का ४५ वर्षिय नरबहादुर विकको अवस्था अझै अज्ञात छ । यस्तै एन्जल बसमा सवार पर्साको सखुवा प्रसौनी– ३ का स्वास्थ्यकर्मी २२ वर्षिय रैफुल आलम, पर्साकै पर्सागढी–७ का ६३ वर्षिय सलीम मियाँ र उनकी पत्नि ६२ वर्षिय सैनुफ खातुनपनि अहिलेसम्म अज्ञात नै छन् ।
घटना भएको ६ दिन बितिसक्दापनि दाई–भाउजु मध्ये कसैकोपनि अवस्था पत्ता नलागेपछि अब उनिहरु जिवित रहेको आस मारेर हिन्दु रितिरिवाज अनुसार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको दुर्घटनामा परेका बाराको प्रसौनी–१ का ताराचन्द पटेलका भाई रमेश पटेलले बताए । उनले भने,‘ यतिका दिनसम्म न त सास भेट्यौ, न त लााश नै । अब मेरा दाई–भाउजु जिउँदै होलान् भन्ने आस नै मारिसक्यौ हामीले ।त्यहि भएर कुशको शव बनाएर दाहसंकार गरिदियौं । १३ दिने काजकिररियाको कामपनि अगाडि बढाईसक्यौ ।’रमेशका अनुसार, दुर्घटनामा परेका उनका दाजु चाराचन्द र भाउजु कुसमीदेवीका दुई छोरी र दुई छोरा छन् ।
यस्तै शुक्रबार कुश बनाएर दाहसंस्कार गरिएकी बाराको कलैया–१४ की स्वास्थ्यकर्मी सृष्टी यादवका बुबा जगदीश यादवले भने,‘ छोरीको लाश पाइहाल्छ कि भनेर ७ दिनसम्म कुर्यौ ,तर भेटिएन । लाशमात्रै भएपनि पााइदिएको भए मन बुझाउनु हुन्थ्यो । अब पक्कैपनि जिवित छैन होली भनेर आज कुशको शव बनाएर आफनो हिन्दु रितिरिवाज अनुसार दाहसंस्कार गरिदियौं । कुशको शव बनाएर दाहसंस्कार तत गरिदियौं तर छोरीको अन्तिम विदाई गर्दापनि उनको मुख हेर्न नपाएको पिडाले नमरेसम्म हामीलाई सताई रहन्छ । ’
यता त्रिशुलीमा बेपत्ता भएका पर्साको पर्सागढी नगरपालिका–७ रघुनाथपुरका सलिम मियाँ र उनकी पत्नि सैनफ खातुनका परिवारजन् भने जिवितै नभेटिएपनि शव भेटिन्छ कि भन्ने आसमा छन् । सलिमका सहोदार भाई हमिद मियाँ भन्छन्,‘ दाई–भाउजु यतिका दिनसम्मपनि जिउँदै होलान् भन्ने आस त छैन अब । तर कमसे कम लाश त पाइन्छ होला भनेर आस अझै मरेको छैन । लाशमात्रै भएपनि पाइदिए हुन्थ्यो । किनकि लाशको आफनो रितिरिवाज अनुसार दफनाइयो (अन्त्येष्टि) भने मात्रै दाई–भाउजुको आत्माले शान्ति पनि पाउँथ्यो ।’
पिडित परिवारलाई स्थानीय र प्रदेश सरकारको राहत
त्रिशुली दुर्घटनामा परेकाहरुको परिवारका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधीले राहतको घोषणा गरेका छन् । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दुर्घटनामा परेका एन्जसल बसका चालक जवाहीर महतोका तीन छोरा–छोरीको शिक्षादिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने बताएका छन् । गत बुधबार बिहानै वीरगन्ज–१६ नगवास्थित महतोको घरमौ पुगेर पिडित परिवारसंग भेट्दै मेयर सिंहले महतोका दुई छोरा र एक छोरीको पठनपाठनको सम्पूर्ण जिम्मा महानगरले लिने बताए । यस्तै वडाध्यक्ष परशुराम चौरसियालेपनि चालक महतोको १३ दिने किरियाममा लाग्ने सम्पूर्ण खर्च आँफुले व्यहोर्ने बताए ।
यस्तै दुर्घटनामा परेका पर्साको सखुवा प्रसौनी गाँउपालिकामा घर भएका चार जना र त्यहाँ कार्यरत बारा घर भएकी एक स्वास्थ्यकर्मी गरी पाँच जनाको परिवारलाई जनही १ लाख २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गाँउपालिका अध्यक्ष यशवन्तले बताएका छन् । यसका अतिरिक्त दुर्घटनामा परेका महुवन स्वास्थ्य चौकीका ल्याब असिस्टेण्ट रैफुल आलमको उनकै वडामा गाँउपालिकाले शालीक बनाउने जानकारपनि उनले दिए ।
त्रिशुली दुर्घटनामा परेका बाराको प्रसौनी गाँउपालिका–१ का ताराचन्द पटटेल र उनकी पत्नि कुसमी देवीको परिवारलाई राहत स्वरुप गाँउपालिकाले १ लाख रुपैयाँ दिने गाँउपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले बताएका छन् । दुर्घटनामा परेका पर्सा र बाराका अन्य पालिकाका यात्रुका लागि भने ती पालिकाले अहिलेसम्म राहतको कुनै घोषणा गरेका छैनन् । मधेस प्रदेश सरकारले भने दुर्घटनामा परेका मधेसबासीका परिवारलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
सरकारप्रति पिडित परिवारको आक्रोश
स्थानीय र प्रदेश सरकारले राहतको घोषणा गरेपनि दुर्घटटनामा परेकाहरुका आफन्त र छिमेकीहरु सरकारको रवैयाप्रति आक्रोशीत छन् । त्रिशुलीमा ६२ जनासहितको बस खसेको आठौंदिन भइसक्दापनि खोज तथा उद्धारमा सरकारको गम्भीर पहल नभएको उनिहरुको गुनासो छ । स्थानीय र प्रदेश सरकारले राहतका नाममा १ लाख मात्रै दिने घोषणाले उनिहरु झन् आक्रोेशीत छन् ।
दुर्घटनामा परेका एन्जस बसका चालक जवाहीरका छिमेकी वीरगन्ज–१६ नगवाका जितेन्द्र पटेलले ६२ जनाको ज्यान लिने गरी दुर्घटना हुदाँपनि सरकार र नेताहरुले खोजी तथा उद्धाार कार्यलाई गम्भिरताका साथ नलिएको बताए । उनले भने,‘ जुन दीन दुर्घटना भयो त्योदिन काठमाडौंमा सरकारमा रहेकाहरु र नेताहरु प्रधानमन्त्री र मन्त्री बन्नमा व्यस्त थिए । घटनास्थलमा कोहि मन्त्री वा नेता पुगेनन् । आज आठ दिन भइसक्यो तैपनि न त प्रधानमन्त्री न त कुनै मन्त्री दुर्घटनास्थलमा पुगेका छैनन् ।’
काठमाडौंका मात्रै नभई आफनै क्षेत्रबाट जितेका सांसद र विधायकपनि पिडितहरुको घरमा अहिलेसम्म मुख देखाउनपनि नआएकोमापनि उनले आक्रोश पोखे ।उनले भने,‘ प्रदेश सरकारले १ लाख दिन्छु भनेको छ । त्यसले के नै हुन्छ र जवाहीरका तीन जना छोरा छोरी छन् । त्यो जाबो एक लाखले उनिहरुको पालनपोषण र शिक्षादिक्षा के हुन्छ। अब केन्द्रको सरकारले भएपनि कम्तीमा १० लाख रुपैयाँ राहत दिने घोषणा गर्नुपर्छ ।’
अर्का छिमेकी मधु चौरसियाले पिडित परिवारको भरणपोषणका लागि सरकारले ध्यानदिनुपर्ने बताए । मधेस सरकारले घोषणा गरेको १ लाख रुपैयाँको राहत झारा टार्ने काम मात्रै भएको भन्दै उनले भने,‘ त्यो एक लाखले के नै हुन्छ र घरमुली नै नरहेको अवस्थामा १ लाखले श्रीमति र बालबच्चालाई कहिलेसम्म थेग्छ । यो १ लाखको घोषणा गरेर मधेस सरकारले झारा टार्ने काममात्रै गरेको छ ।’ कम्तिमा पनि पिडित परिवारका एक सदस्यलाई सरकारी जागीरको व्यवस्था गरिदिनुपर्ने उनले बताए । यस्तै जिविकोपार्जनका लागि बैंकबाट लिएको ऋणपनि सरकारले मिनाहा गरिदिनुपर्ने उनको माग थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले केन्द्र सरकारले हालै कुनैपनि प्राकृतिक दुर्घटनामा परेकाहरुका लागि १० दिनसम्मपनि अवस्था पत्ता लाग्न नसकेको अवस्थामा पिडित परिवारलाई जनही २÷२ लाख रुपैयाँ राहत दिने घोषणा गरेको बताए । त्यसका कारण त्रिशुली घटना भएको १० औं दिन आइतबार पुग्ने र त्यसपछि सरकारले घोषणा गरेको उक्त राहत उपलब्ध गराउनका लागि सम्बन्धित पिडित परिवारलाई सम्पर्क गरिने उनले बताए ।सभार : मधेसखबर