काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।
पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।
कांग्रेसका प्रमुख सचेतक रहेका जन्मन्जय तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।
यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।
यसैबीच बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीपनि लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् ।
जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।२०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ। कुर्मी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।