काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा। मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए । ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।
गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए । ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा। पौडेलले अनलाइनखबरसँग भने, ‘त्यही सुधार केन्द्रका सोमबार ल्याइएका अर्को युवकमा पनि पुष्टि भएको छ ।’
ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो । ‘त्यहाँ आपूर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटियो । सबैले एउटै पानी सेवन गरिरहेका छन् । केन्द्रमा झाडापखाला लागेका जोकोहीलाई पनि हैजा संक्रमण हुने सम्भावना छ,’ डा। पौडेलले भने ।
हालसम्म हैजा संक्रमित ती युवकले आफ्नौ हिसाबले उपचार गरिएको जानकारी प्राप्त भएको डा। पौडेलले बताए । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
त्यसैले हैजा विरुद्धको खोपको दिन सरकारले आवश्यक तयारी चाल्नुपर्ने सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुन बताउँछन् । ‘जोखिमयुक्त ठाँउमा हैजाको खोपका दिन थाल्नुपर्छ । खोप ल्याउने कदम अगाडी बढाउनुपर्छ,’ डा। पुन भन्छन्, ‘संक्रमण फैलिएपछि नियन्त्रण गर्न सकिँदैन । भोलि अवस्था जटिल बन्नसक्छ ।’
२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो ।
काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने गरेको स्वास्थ्य विज्ञ बताउँछन् ।हैजाका बिरामीले चौलानी पानीजस्तो दिसा गर्छन्, जसमा धेरै संख्यामा हैजाका कीटाणुहरू रहेका हुन्छन् ।
स्वस्थ व्यक्तिमा दूषित खाना वा पानी (हैजाका कीटाणु मिसिएको) को माध्यमबाट हैजाका कीटाणु शरीरमा (आन्द्रामा) प्रवेश गर्छन्। दूषित खाना वा पानी खाएको १२ घण्टादेखि ५ दिनसम्ममा रोगको लक्षण देखा पर्छ ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
काठमाडौंमा उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास हुन नहुँदा पनि हैजा फैलिने गरेको उनी बताउँछन् । हैजाबाट बच्न विशेषगरी पिउने पानी तथा बजारमा राखिएका खानेकुरामा ध्यान पुर्याउनुपर्ने डा।
पुनको सुझाव छ । ‘ठाउँ–ठाँउमा हैजाका बिरामी देखिएको हुँदा धारा वा जारको पानी जुन भएपनि राम्ररी उमालेर पिउनुपर्छ । त्यसैगरी पटक–पटक हातखुट्टा पनि राम्ररी धुने गर्नपर्छ,’ डा। पुन भन्छन्, ‘सिधै पानी पिउनु हुँदैन । ७० डिग्रीसम्म पानी ततायो भने पनि जीवाणु मर्छ ।’