जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा पाँच वर्षभित्र १२ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित सुरु गरिएको बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र परेको छ ।
पञ्चवर्षीय योजनासहित २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना ९ वर्ष बित्दासमेत पूरा नभएको हो । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँमा आयोजना बनाउन सुरु गरेको थियो ।
डिभिजन कार्यालयले हालसम्म २ करोड रुपैयाँमा दुईवटा बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले डिभिजन कार्यालयमा थुप्रै पटक धाए । यसअवधिमा कैयजना डिभिजन प्रमुख पनि आए, गए । तर, योजना अझै अपूरो अलपत्र हुँदा उनी वाक्क छन् ।
‘५ वर्ष भित्र योजना सम्पन्न गरिदिन्छु भनेको थियो । ९ वर्षभयो । डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसके’, उभोक्ता समितिका अध्यक्ष ठाकुर आक्रोस पोख्छन्, ‘चाँडै काम हुन्छ भन्ने कति हाकिम आए, गए । तर योजना अधुरै छ ।’
साविकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराजन डिभिजन कार्यालयमा विलिन भइसकेको छ । कार्यालय उचित बजेट छुट्याउँदैनन् ।
बर्सेनि खुद्रे १०–२० लाख बजेट राखेर डिभिजन कार्यालय असार मसान्तको अन्ततिर आएर सानो काम गरेर पन्छिने गरेको अध्यक्ष ठाकुरको गुनासो छ । अब आयोजनको काम पूरा गर्न १३ करोड ५० लाखमा मात्रै पूर्णता पाउने कार्यालयले भन्ने गरेको छ ।
गत आर्थिक वर्ष २०७९-८० असार मसान्तमा डिभिजन कार्यालय राजबिराजले १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०-८१ म छुट्याएको १७ लाख रुपैयाँ डिभिजनले कामै नगरी फ्रिज भएर गयो ।
‘उचित बजेट नआएर काम नभएको हो । डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुर भन्छन्, ‘यसरी त मेरो जीवनमा पनि यो आयोजना पूर्णता पाउँदैन । दोष स्थानीयले मलाई दिन्छन् ।’
५ वर्षभित्र शुद्ध खानेपानी घरघरमा पाउने आशा लगाएका स्थानीयहरु पनि निराश छन् । ‘अहिलेसम्म काम अधुरै छ । हामीले यसबाट पानी खाने कुनै ठेगान छैन । त्यतिबेला भन्यो– ५ वर्षमै घरघरमा धारामा पानी आउँछ । ९ वर्षमा पनि केही भएन’, स्थानीय धियानी सदाले गुनासो पोखे ।
सरकार र स्थानीय जनप्रतिनिधि बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय रामविलास ठाकुर बताउँछन् । ‘यहाँबाट भोट लिएर जाने जनप्रतिनिधिले पनि यो षियमा चासो राखेनन् । उनीहरुले चाहेको भए समयम नबने कुरै हुन्थेन’, रामविलास भन्छन्, ‘जेठ असार महिनामा कल सुक्दा धेरैलाई खानेपानी समस्या हुन्छ । सरकारले पनि मतलब गरेको छैन ।’
खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको कताए । बितेको आर्थिक वर्षको असार ३ गते मात्र आफू डिभिजन प्रमुख भएर आएको कारण काम गराउन नसकेर छुट्याइएको १७ लाख पनि फ्रिज भएको उनको स्वीकारोक्ति छ ।
‘संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना हो यो । उचित बजेट विनियोजन नहुँदा समयमा पूर्णता नपाएको हो । म ढिलो जिम्मेबारीमा आएको कारण भएको बजेट पनि कार्यान्वयन गराउन सकिनँ’, उनले भने, ‘उचित बजेट विनियोजन नगर्दासम्म पूर्णता पाउन गाह्रो छ ।’