काठमाडौँ । गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरू प्रमुख गन्तव्य मनाङ जिल्ला हुने गरेको छ । गण्डकीका अन्य जिल्लाको तुलनामा मनाङमा विदेशी पर्यटकले धेरै दिन बिताउने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुुसार गण्डकी आउने विदेशी पर्यटकले मनाङ भ्रमणमा खर्चने औसत दिन सर्वाधिक देखिएको हो । मनाङ घुम्न जाने विदेशी पर्यटकको औसत बसाइ १८.१३ दिन रहने गरेको छ ।
दोस्रो रोजाइमा म्याग्दी पर्ने गरेको छ । म्याग्दीमा विदेशी पर्यटकको औसत बसाइ १३.६२ दिन रहने गरेको छ भने त्यसपछि मुस्ताङमा १३.२५ दिन औसत बसाइ रहने गरेको छ । कास्कीमा १०. ६७, नवलपरासी पूर्वमा ७ र गोरखामा ४.३७ दिन औसत बसाइ हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा आउने पर्यटकलाई हुने मुख्य समस्यामा भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या आदि रहेको पाइएको छ । सर्वेक्षणमा संलग्नमध्ये केही पनि समस्या अनुभव नरहेको पर्यटक २८.४१ प्रतिशत पाइएको छ भने यातायातको समस्या भोगेका २३।११ प्रतिशत, भुक्तानीको समस्या भोगेका १५.३४ प्रतिशत र भाषागत समस्या भोगेका १२.३१ प्रतिशत पाइएको छ ।
गण्डकी घुम्न आउने विदेशी पर्यटकले गर्ने खर्चमध्ये खानपिन खर्च सर्वाधिक रहेको छ । खानपिनमा २८.२२ प्रतिशत रकम खर्च गर्दा बसाइका लागि २७.६ प्रतिशत, यातायातमा २१.७, मनोरञ्जनका लागि १२.३, किनमेलमा ५.७७, करबापत २.२४, धार्मिक खर्चमा १.११ र अन्य खर्चमा १.०६ प्रतिशत रकम खर्च गरेको पाइएको छ ।