रुकुम पूर्व — मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्व–पश्चिम खण्डस्थित रानीकोटमा गत बुधबार राति आएको पहिरोका कारण अवरुद्ध सडक मर्मतको काम चार दिनसम्म पनि पूरा हुन सकेको छैन । जसका कारण यो मार्ग भएर हुने सवारी आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गत बुधबार राति पहिरो गएपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो । बिहीबार बिहानैदेखि मर्मतको काम थाले पनि अहिलेसम्म काम नसकिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । ‘करिब १ सय मिटर फराकिलो पहिरो छ । पहिलाको सडकको बेस नै गएकाले पनि पहिरो पन्छाउन समय लागेको हो । तर कामनिरन्तर भइरहेको छ,’ उनले भने ।
यो खण्डअन्तर्गत रानीकोटदेखि खोपिचारसम्मको करिब ५ किलोमिटरबाहेक अरु सबै सडक कालोपत्रे भइसकेको छ । हाल निर्माणाधीन अवस्थामा रहेको रानीकोटस्थित यो भिरमा बर्सेनि पहिरो झर्ने गरेको भए पनि यसरी लामो समय अवरुद्ध हुने गरी पहिरो खसेको भने यो पहिलोपल्ट हो ।
यो पहिरो पन्छाएर सडक सञ्चालन गर्न निरन्तर काम गरिरहेको र चाँडै नै सडक सञ्चालनमा आउनेगरी मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका साइट इन्जिनियर नवीन खरेलले बताए । ‘पहिरो अलि ठूलो नै छ । सकभर छिट्टै सडक सञ्चालन गर्ने गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ,’ उनले भने ।
रुकुम पूर्वदेखि पश्चिमका लागि यसको वैकल्पिक मार्गका रूपमा रहेको धाउने–गिलबाङ–खलंगाको सडकस्थित नाथीगाढ खोलामा गत शुक्रबार अस्थायी रूपमा राखिएको ह्युम पाइप पनिगएरातीखोलाले बगाइ दिएपछि दुई जिल्लाको आवागमन पूर्ण रूपमा ठप्प भएको प्रजिअ शर्माले बताए ।
रानीकोटको पहिरोका कारण बिजुलीको पोलमा समेत असर पर्दा अवरुद्ध भएको रुकुम पूर्वको विद्युत्को मर्मतको काम सकिएपछि हिजो साँझदेखि विद्युत् सेवा भने सुरु भएको पनि उनले बताएका छन् ।