वीरगञ्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा एक सय भन्दा धेरै जना जनता समाजवादी पार्टी ९जसपा० नेपालमा प्रवेश गरेका छन् । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ मा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गर्दै सयौँ जना जसपा नेपालमा प्रवेश गरेका हुन् ।
माओवादी पार्टी परित्याग गरेर सहरुम गद्दी र नेपाली कांग्रेसबाट सोनु मिश्राको सयुँक्त नेतृत्वमा भएको कार्यक्रममा कार्यक्रममा मुस्तुफा राउत, भोला राम, मुकेश साह, जयन्त कुमार केवट, निखिल कुमार केवट लगायत एक सय भन्दा धेरै जना जसपा नेपालमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा सदस्य सिंहासन साह कलवार, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद लगायतले अबिर, खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
नवप्रवेशीलाई स्वागत गर्दै पूर्व मुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य लालबाबु राउतले पहिचान र परिवर्तनका लागि जसपा नेपालको विकल्प नरहेको दाबी गरे । पहिचानवादी दलमा प्रवेश गरेकोमा बधाई दिँदै उनले मधेश प्रदेश मात्रै पहिचानका आधारमा स्थापित प्रदेश भएको बताए । आफ्नै नेतृत्वमा मधेश प्रदेश भएको बताउँदै उनले एकअर्कालाई लडाउने र झुठो मुद्दामा जनतालाई फसाउने समय अब नरहेको बताए ।
मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री सिंहासन साह कलवारले जसपा नेपाल नै समृद्धिको सुनिश्चितता गर्ने पार्टी भएको बताए । लामो समयसम्म कांग्रेसमा आवद्ध हुँदाको अनुभव सुनाउँदै उनले कांग्रेसको पालामा कुनै कामै नभएको बताए । औरिया खोलामा अनुगमन तथा अन्य काम भएपनि पुल बन्न नसकेको बताउँदै उनले मधेश प्रदेशमा जसपा नेपालले नेतृत्व गरेदेखि पुल बनेको बताए । प्रदेश सरकारले गाउँगाउँमा सडक बिस्तारदेखि विकासका काम गरेको उनको जिकिर छ ।
जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले मधेश प्रदेशमा जसपा नेपाल कमजोर बनेको भन्ने भ्रममा नपर्न आग्रह गरे । जसपा नेपाल सँधै आफ्नो सिद्धान्त अनुरुप नै चलीरहेको जिकिर गर्दै अध्यक्ष यादवले पार्टीले जनताका समस्यालाई नै प्रमुख प्राथमिकता दिएको बताए ।
जसपा नेपालले सीमान्तकृत समुदायसँगै दलित, महिला एवम् विपन्न समुदायको जीवनस्तर उकास्ने र देशमा समृद्धि ल्याउने कार्यमा समर्पित भएको पार्टीका जिल्ला सचिव तबरेज अहमदले बताए । उनकाअनुसार मधेशको पहिचान स्थापित गर्न जसपा नेपालले खेलेको भूमिकालाई नागरिकले नजरअन्दाज गर्नुहुँदैन । जसपा नेपालप्रतिको बढ्दो आकर्षणकै कारण पार्टी प्रवेश गर्ने लहर चलीरहेको उनले बताए ।
कार्यक्रममा जसपा नेपाल जगरनाथपुर गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्षकी उम्मेदवार जलेसा खातुन, नव प्रवेशीहरु कमरे आजम, सलिम राउत गद्दी, सुरेश मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।