मणि थापा एमालेबाट पदमुक्त भएका छन्।
नेकपा (एमाले) को स्थायी कमिटी रहेका उनी पदमुक्त भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए। २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो।
‘उहाँको पद रिक्त भएकाले पूर्ति गरिसकिएको छ,’ गौतमले भने।
बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ।
न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आएका थिए। श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा भएका हुन्।
यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो। अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो।
एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन्। मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए।
प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन्।
‘मिसन ग्रासरूट’ मा उनको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यतिबेला वैशाखदेखि सुरू हुने ‘राष्ट्रका लागि संगीत अभियात्रा’लाई देखाएर थापा कार्यक्षेत्रमा गएका थिएनन्।
‘उहाँले महासचिव र मलाई भेटेर संगीत अभियात्रामा जान्छु। केही समय बिदा चाहियो भनेर भन्नुभएको थियो। औपचारिक जानकारी गराएरै बिदा बस्नु भएको हो,’ एमालेका उपमहासचिव विष्णु रिमालले त्यतिबेला सेतोपाटीसँग भनेका थिए।
बल्थली रिसोर्टको बोलीले बिगार्यो ओलीसँगको सम्बन्ध
२०७९ साउनमा नेपाल अध्ययन केन्द्रले काभ्रेको एक रिसोर्टमा वामपन्थी आन्दोलनबारे विमर्श गरेको थियो।
छलफलमा मणि थापा पनि थिए। त्यहाँ उनले एमाले दक्षिणपन्थी पार्टी रहेको संश्लेषण सुनाए। एमाले मात्र नभई नेपालका सबै वामपन्थी घटक दक्षिणपन्थकै यात्रामा रहेको उनको तर्क थियो।
‘कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै कम्युनिस्टहरू दक्षिणपन्थी हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमै छु, यो पनि दक्षिणपन्थी कम्युनिस्ट हो,’ उनले भनेका थिए, ‘यो दक्षिणपन्थी कम्युनिस्टले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेको छ।’
उक्त विमर्शमा एकातिर उनले आफैं स्थायी कमिटी सदस्य रहेको पार्टी दक्षिणपन्थी भासतिर अघि बढेको औंल्याएका थिए भने अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीमाथि पनि प्रश्न उठाएका थिए।
एमाले भएको नाताले ‘बा’ले भनेको मान्नैपर्ने भन्दै उनले पार्टीका नेता–कार्यकर्ताको निरीहता प्रस्तुत गरेका थिए।
‘अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो। अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बा ९केपी ओली० ले जे भने पनि त्यो त हो भन्नुपर्यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ फेरि,’ थापाले भनेका थिए।
माओवादीमै हुँदा पनि थापा नेतृत्वप्रति बेला–बेलामा असन्तुष्टि पोखिरहन्थे। राज्यसत्ताविरूद्ध लडाइँका अलावा उनले ‘जनयुद्ध’मा सांस्कृतिक बान्की थपेका थिए। गीत रचना र संगीतको लयद्वारा माओवादी आन्दोलनलाई जन–जनमा पुर्याउन, जोड्न सघाएका थिए।
माओवादी आन्दोलित विस्तारित हुँदै गर्दा नेतृत्व साँघुरिदै गयो। पार्टीभित्र गुटले हाँगा हाल्न थाले। आन्दोलन, पार्टीका नेता–कार्यकर्ताको भावनाविपरीत नेतृत्वको संरचना निर्माण हुन थाल्यो।
त्यसबाट आजित भएर उनले विद्रोहको बाटो नहिँडेको पनि होइनन्। २०६२ मा भारतको नयाँदिल्लीमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सहमतिप्रति विमति जनाउँदै उनले पार्टी परित्याग गरे। माओवादी छोडेका रवीन्द्र श्रेष्ठ र थापाले क्रान्तिकारी कम्युनिष्ट केन्द्र खोलेका थिए। २०७३ मा मात्रै थापा माओवादीमा फर्किएका हुन्। श्रेष्ठ त्यसअघि नै एमालेमा प्रवेश गरेका थिए। माधवकुमार नेपालको मन्त्रिपरिषदमा मन्त्री बनेका श्रेष्ठ त्यसपछि राजनीतिक दृश्यबाट हराएका छन्।
नेकपा विघटनपछि एमालेमै रहँदा पनि पुरानै प्रवृत्तिको अधीनमा रहनुपरेको अनुभूति थापाले गर्न थाले। सार्वजनिक रूपमै उनले भन्ने गरेका थिए– कम्युनिस्ट पार्टीहरू आफैं समस्याग्रस्त बन्न थालेपछि समाजमा पैदा हुने नयाँ–नयाँ समस्या समाधान गर्न सक्दैनन्।
नेकपा विघटन भएर एमाले ब्युँतिएपछि अध्यक्ष ओलीकै कार्यशैलीको निरन्तरताको रूपमा एमाले रह्यो।
नेतृत्वमा अधिकारको केन्द्रीकरण थियो। सचिवालय निर्णय गर्ने, तलका कमिटीले अनुमोदन गर्ने, केन्द्रीय सदस्य ताली बजाउने हैसियतमा सीमित राखिँदा र छलफल–बहसलाई संकुचन तुल्याइँदा पार्टी दक्षिणपन्थी बन्ने थापाको बुझाइ थियो।
एमाले दक्षिणपन्थी भयो भन्ने थापाको तर्कबाट एमाले अध्यक्ष ओली क्रुद्ध बन्न पुगे।
‘चुनावको मुखमा एमालेलाई दक्षिणपन्थी भनेपछि अध्यक्षले रूचाउने कुरै भएन। त्यही भएर उनलाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा राख्ने, थप जिम्मेवारी दिनेतिर अध्यक्ष लाग्नु भएन,’ एमालेका एक नेता भन्छन्।
२०८० को कार्ययोजना लागू गर्दा पनि उनले नेतृत्वसँग आफूलाई बिदा दिन अनुरोध गरेका थिए।
एमाले नफर्किने नै ध्येयले उनी त्यतिबेला कार्यक्षेत्रमा खटिन चाहेका थिएनन्।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाभित्र फाटो आयो। त्यतिबेला ओलीलाई साथ दिएका थापा खानेपानी मन्त्री पनि बनेका थिए। २०७८ मंसिरमा भएको एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी स्थायी कमिटी सदस्य मनोनीत बनेका थिए।