काठमाडौँ — अब कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरुले पनि सस्तो कर्जा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि शुक्रबार निर्देशन जारी गरेको छ । उल्लिखित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ प्रतिशत विन्दुमात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने छ ।
यसअघि २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा बढीमा २ प्रतिशत विन्दु प्रिमियम थपेर ब्याजदर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यो व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनलाई पनि थप गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २ करोडसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि (आयात सम्बन्धी व्यवसाय बाहेक)कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।