अर्को बाघ गाउँ पसेको आशंका, हल्लाको पछि नलाग्न निकुञ्जको आग्रह
शुक्रबार नियन्त्रणमा लिइएको नरभक्षी बाघ।शुक्रबार नियन्त्रणमा लिइएको नरभक्षी बाघ।
महाकाली पारी रहेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फेरि बाघको त्रास फैलिएको छ।
शुक्रबार एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि चयनको सास फेरेका त्यहाँका स्थानीय पुनः त्रासमा देखिएका हुन्।
बिहिवार बिहान दोधाराचाँदनी(२ कमलसामा खेतमा घाँस काट्न गएकी २३ वर्षीया हिरादेवी शाह बाघको आक्रमणमा मारिएकी थिइन्।
घटनापछि कमलसा गाउँ मात्र नभई पुरै नगरवासी त्रास र शोकमा छन्।
घटनापछि शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ती महिलालाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको थियो।
नरभंक्षी बाघलाई नियन्त्रणपछि केही ढुक्क भएका स्थानीयहरू शुक्रबारदेखि पुनः त्रसित भएका छन्।
गएराति नगरपालिकाको वडा नम्बर ३ का विभिन्न घरहरूमा पालिएको चौपायामाथि आक्रमण भएको पाइएपछि माहोल पुनः त्रासदीपूर्ण बनेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेर जोशीका अनुसार शुक्रबार राती वडा नम्बर ३ का तीन वटा घरमा पालिएका चौपायामाथि आक्रमण भएको सूचना प्राप्त भएको छ।
‘तीनवटा घरमा पालिएका बाख्रामाथि आक्रमण भएको भन्ने जानकारी आएको छ। हामी बुझ्दैछौं,’ उनले भने।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले पनि शुक्रबार नरभक्षी बाघ नियन्त्रणमा लिएको स्थानबाट ३ किलोमिटर टाढा वडा नम्वर ३ मा तीन वटा बाख्रालाई आक्रमण गरेको भन्ने खबर आएकाले त्यो ठाउँमा टोली गएर बुझ्ने काम भइरहेको बताए।
‘फेरि अर्को बाघ हुनसक्ने सम्भावना भएकाले हिजो राति नगरपालिकाको मेयर र हाम्रो टोलीले क्यामेराबाट हेर्यौं। बाघ कतैपनि देखिएन, पानी परेकाले पाइला पनि देखिएन, राती राँगा बाधेर हेर्दा राँगालाई पनि खाएन,’ उनले भने।
उनले यथार्थ केहो भन्ने विषयमा बुझिरहेको पनि बताए।
‘फोटोमा हेर्दा बाघले आक्रमण गर्ने शैली फरक हुन्छ, यो फरक छ चितुवा वा अन्य जनावारले आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने।
उनले स्थानीयलाई अफवाहको पछाडि नलाग्न र सतर्क रहन आग्रह पनि गरे। सेतोपाटी