पोखरा– मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ। शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो।
आधार शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ। भेडा चरनका लागि पुगेका गोठालाले कंकाल फेला पारेको वडाध्यक्ष हरिबहादुर क्षेत्री ९राजेन्द्र० ले बताए। उनका अनुसार भेडा चरनका लागि पुगेका गोविन्द गौतमले कंकाल फेला परेपछि तस्बिरसहित जानकारी गराएका थिए।
४ हजार ५०० मिटरको उचाइमा कंकाल देखेका गौतमले वडाध्यक्ष क्षेत्रीलाई बताएपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका छन्। वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ।
पोखराबाट आधार शिविर पुग्न दुई दिनको समय लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए। ‘फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय स्वेडेनका नागरिक मिचल लिउ ब्लोम्बर्गको हुनसक्छ,’ उनले अनुमान लगाए।
जिल्ला प्रहरी कार्यालयले भने लिउकै भएको बताएको छ। लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका हुन्। त्यो दिन मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो। लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल पुष्टि हुने बताउँछन्। ‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइलले लिउकै भएको पुष्टि गरेका छन्,’ उनले भने।