अन्तर्राष्ट्रिय नेपाल योग महोत्सवमा सहभागी विभिन्न देशका पर्यटक।
पोखरामा सञ्चालन भइरहेका योग र ध्यान केन्द्रलाई व्यवस्थित गर्ने मापदण्ड तथा नियमन गर्ने संयन्त्र नहुँदा विदेशी पर्यटक ठगिन थालेका छन्।
पोखराको लेकसाइडमा विदेशी पर्यटक केन्द्रित भएर खुलेका दर्जनौं योग सेन्टर छन्। होटल, रिसोर्ट र पर्यटनसँग सम्बन्धित कम्पनीहरूले विदेशी पर्यटकका लागि योग कक्षा सञ्चालन गरिरहेका छन्। यससँगै कतिपयले व्यक्तिगत रूपमा पनि समूह बनाएर योग कक्षा चलाइरहेका छन्।
योग कक्षाको ‘ट्रेन्ड’ मा अहिले ‘टीचर्स ट्रेनिङ’ अर्थात् २०० घण्टा, ३०० घण्टा र २१ दिनका तालीम पनि सञ्चालित छन्, जसको उद्देश्य योग प्रशिक्षक बनाउने हुन्छ। योग प्रशिक्षक बन्न न परीक्षा दिनुपर्छ न त कतैबाट अनुमति लिनुपर्छ।
केही घण्टाको तालीम लिएको प्रमाणपत्रको भरमा योग प्रशिक्षकको योग्यता निर्धारण भइरहेको छ। जसले गर्दा विदेशी पर्यटकलाई जथाभावी योग सिकाउने गर्दा नकारात्मक असर परिरहेको योग साधक बताउँछन्।
पोखरामा सञ्चालित योग तथा ध्यान केन्द्रमा पुगेका विदेशी पर्यटक ठगिएका उजुरी पनि आउन थालेका छन्। भर्खरै अमेरिकी पर्यटक क्याथरिन ९नाम परिवर्तन०ले आफूलाई ठगेको भन्दै नेपाल पर्यटन बोर्डमा उजुरी दिएकी छन्।
क्याथरिन योग शिक्षक तालीमका लागि चार महीनाअघि अमेरिकाबाट पोखरा आएकी थिइन्। पोखरामा नै रहेको एक योग सेन्टरमा भर्ना भइन्। उनले ३०० घण्टाको कक्षाका लागि दुई महीनामा दुई हजार ८०० अमेरिकी डलर अर्थात् तीन लाख ७१ हजार रुपैयाँ तिरेकी थिइन्।
योगाभ्यास र शिक्षणको २० वर्षको अनुभव रहेकी क्याथरिनले नेपालमा आएर थप ज्ञान हासिल गर्दै प्रमाणपत्र लिने आश गरेकी थिइन्। तर उनले सोचे अनुसार योगको तालीम नपाएपछि ठगिएको गुनासो गरिन्।
योग सिकाउने शिक्षक दक्ष नभएको, राम्रो व्यवहार नगरेको भन्दै उनले प्रशासनलाई जानकारी गराएकी थिइन्। त्यसपछि उल्टै धम्की दिएको भन्दै बोर्डमा उजुरी दिएकी छन्।
क्याथरिनले विश्वभरबाट पोखरामा योग सिक्न आउनेहरूका लागि यो अनुभवले नेपाललाई क्षति गर्ने बताइन्। “अध्यात्ममा लागेका योगीहरूका लागि पोखरामा स्वस्थ वातावरण बन्न सकेको छैन,” उनी भन्छिन्, “चर्को शुल्क तिरेर पनि अन्तर्राष्ट्रिय मापदण्डको योग प्रशिक्षण भएन।”
योग प्रशिक्षणका लागि आफूले तिरेको रकम खेर गएको महसूस गरेको उनी सुनाउँछिन्। “योग प्रशिक्षणका लागि पोखरा आउँदा फलाइटको खर्च, तालीम शुल्क सबै खेर गयो,” क्याथरिन भन्छिन्, “राम्रो तालीम पाइनँ, उल्टै दुर्व्यवहार र ठगीमा परें।”
क्याथरिन जस्तै थुप्रै विदेशी पर्यटकले योग कक्षाको मापदण्ड नभएकोमा गुनासो गरिरहेका छन्। कतिपयले उजुरी पनि दिएका छन्। योग कक्षा सञ्चालन, प्रशिक्षण र कम्पनीबारे मापदण्ड नबन्दा तथा नियमन नहुँदा योग र ध्यानको व्यापारमा विकृति बढ्न थालेको उनीहरूको भनाइ छ।
योग र ध्यानको क्षेत्रमा काम गरिरहेकै व्यक्तिहरूले पनि योग प्रशिक्षकको मापदण्ड तय गरिनुपर्ने र घुम्न आएका विदेशीले अवैध रूपमा योग सिकाउने कार्यको नियमन गर्नुपर्ने माग गरेका छन्। योगबारे गहिराइमा नबुझीकनै केही दिनको तालीम लिएर प्रशिक्षण दिने गरिएको योग प्रशिक्षक महेश्वरमान श्रेष्ठ बताउँछन्। “होटल, योग सेन्टर तथा व्यक्तिगत रूपमा योग प्रशिक्षण दिंदा ‘अथेन्टिक’ योग प्रशिक्षक हुनुपर्छ,” श्रेष्ठ भन्छन्, “तर मापदण्ड र नियमन नहुँदा मनपरी योगाभ्यास गराइँदै छ।”
योग प्रशिक्षण गर्न तथा योग कक्षा सञ्चालनका लागि तीनै तहका सरकारले मापदण्ड बनाएका छैनन्। यसमा संलग्न संघसंस्थाले पनि मापदण्ड निर्धारण गरेका छैनन्। विदेशी पर्यटक लक्ष्यित भएका कारण पर्यटन संघ सम्बन्धित संघसंस्था, नेपाल पर्यटन बोर्ड, गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका लगायत जिम्मेवार निकायले पनि वास्ता गरेको देखिंदैन। जसले गर्दा योग र ध्यानको क्षेत्र मनपरी गर्ने व्यवसाय बनेको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले योग, ध्यान तथा प्राकृतिक चिकित्सामा विदेशी पर्यटकको आकर्षण बढेसँगै यसमा मापदण्ड निर्धारण आवश्यक हुन थालेको बताउँछन्। योग र ध्यान सिकाउने प्रशिक्षकको योग्यता निर्धारण र त्यसको अनुगमन गर्नुपर्ने पोखरेलको भनाइ छ। उनी भन्छन्, “नियमन तथा अनुगमन नहुने हो भने पोखराको छविमा नकारात्मक प्रभाव पर्न सक्छ।”
योग साधकहरू यसलाई नियमन र व्यवस्थित गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताउँछन्। पोखराका मेयर धनराज आचार्य पनि यस विषयमा गुनासो आइरहेको बताउँछन्। योग र ध्यानको क्षेत्र नयाँ भएकाले नियम बनाउन बाँकी नै रहेको उनको भनाइ छ, “हाम्रा लागि पनि यो नयाँ विषय हो, पर्यटक खुशी छन् भन्ने थियो, तर यस्ता गतिविधिले ध्यानकर्षण भएको छ,” मेयर आचार्य भन्छन्, “हामीले गम्भीर रूपमा लिएका छौं।”
योग र ध्यानका लागि पोखरा आएको विदेशी पर्यटकमाथि भएका दुर्व्यवहार तथा ठगीका घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कारबाहीका लागि पहल गर्ने उनी बताउँछन्। अहिलेकै तरीकाले धेरै समय चल्न नसक्ने बताउँदै मेयर आचार्य भन्छन्, “प्रदेश सरकारको समन्वयमा योग प्रशिक्षण, सेन्टरहरूका लागि कार्यविधि ल्याउन पहल गर्छौं।”