काठमाडौं– यो वर्षको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ गते आयोजक गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने छ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभक्त श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ,बलराम थापा लगायतले संयुक्त रुपमा लाखे नाच महोत्सवको ब्यानर सार्वजनिक गरे ।
योसँगै महोत्सवको औपचारिक प्रचार–प्रसार प्रारम्भ भएको छ । मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न,हेर्न पाइनुका साथै यसले सस्कृति जगर्नेमा समेत ठूलो टेवा पुर्याएको धारणा राखे । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति,परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।
आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको स्मरण गर्दै यसपाली ४५ जिल्लाबाट सहभागीता हुने दावी गरे ।
यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्श्य रहेको आयोजक संस्थाले बताएको छ ।