ढाका, बंगलादेश। बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन्। शपथ ग्रहण समारोह राति आठ बजे आयोजना गरिनेछ। युनुसले सल्लाहकार परिषद् पनि गठन गर्नेछन्, जसमा १५ सदस्य रहने सम्भावना रहेको मिडिया रिपोर्टहरूमा उल्लेख छ।
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिस र सेनाको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन्। शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत गएकी थिइन्।
मुहम्मद युनुस उपचारको सिलसिलामा फ्रान्सको पेरिसबाट दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘म सबैलाई शान्त रहन अपिल गर्दछु। कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला। सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु। यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरू छन्, हामीले यसको रक्षा गर्नुपर्छ। हाम्रो लागि र हाम्रो नयाँ पिँढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ।’
८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन्। उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन्। गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए। उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए। त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएका थिए। तर, शेख हसिनाले उनलाई गरिबको रगत चुसेको भन्दै आलोचना गरेकी थिइन्।
गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजाय समेत सुनाएको थियो। तर, उनी जेलमा बस्न भने परेन। युनुस विरुद्ध अहिले पनि एक सय बढी आरोपहरू दर्ज भएका छन्। यद्यपि उनले आफूमाथि लागेका आरोप राजनीति प्रेरित भएको भन्दै खण्डन गर्दै आएका छन्।