विराटनगर–१८ लावाघाटका ५८ वर्षीय महेशलाल मण्डलले विराटनगर–१८ कै मिटरब्याजी सुनिल साहसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ कर्जा लिएका थिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसके पनि जग्गा फिर्ता भएन ।
अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने सुनिलले बताएर जग्गा कब्जा गरेपछि महेशलाल सङ्घर्षमा उत्रिए ।
मण्डलले आफ्नो जग्गा फिर्ता ल्याउन एक वर्ष अगाडिदेखि न्यायिक निकायको घरदैलो चहारिरहे । स्थानीय जनप्रतिनिधिदेखि प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसम्म मिटरब्याजीले हडपेको जग्गा फिर्ताको लागि उनी कयौँ दिन धाए ।
मण्डलसहित लावाघाट र दमादिगीका आधा दर्जनभन्दा बढीले मिटरब्याजी सुनिलको विरुद्धमा प्रशासनमा उजुरी पनि दिए । उजुरी दिएपछि उनै महेशलालको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भयो ।
पीडित महेशलालको नाममा धेरै समाचार पनि बने । उनीसहितले गरेको पहल र सङ्घर्षकै परिणाम उनकोसहित दमादिगी र लावाघाटका ६ जना पीडितले मिटरब्याजी सुनिल साहबाट गत आइतबार धनीपुर्जा फिर्ता पाए ।
तर बिडम्बना, उनै महेशलालले भने फिर्ता आएको धनीपुर्जा देख्नै पाएनन् । उनको १५ दिन अगाडि नै मृत्यु भइसकेको थियो ।
सुनिलको मिटरब्याज धन्दाले पिरोलिएको र ऋणको बोझकै कारण अकालमै श्रीमानले ज्यान गुमाएको उनकी श्रीमती सुमित्रा देवी मण्डलले बताइन् । ‘गुमेको जग्गा फिर्ता त आयो । धनीपुर्जा हेरेर मर्ने उहाँको इच्छा थियो । त्यो इच्छा पूरा नभइ उहाँले संसार छोडेर जानुभयो,’ सुमित्राले भनिन्, ‘मिटरब्याजमा गुमेको जग्गा फिर्ताको हारगुहार गर्दै धेरै ठाउँ धाउनुभयो ।’
मिटरब्याजी सुनिलले गाउँ नै कब्जा गरेको समाचार आएको थियो । अहिले जग्गा फिर्ता पाएपछि विराटनगर–१८ लावाघाट र दामादिगीका ६ घर परिवार अति खुसी भएका छन् । उनीहरूको जग्गा आइतबार फिर्ता भएको छ । जग्गा फिर्ता भएपछि ६५ वर्षीया लक्ष्मी साह दङ्ग छिन् । ८ वर्षपछि मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा उनको नाममा आयो । जग्गा फिर्ता पाएपछि खुसी हुँदै उनी सञ्चारकर्मीसँग प्रस्तुत भइन् र भनिन्, ‘१७ धुर घरसहितको जग्गा राजीनामा पास गरेर १ लाख रुपैयाँ कर्जा लिएको थिएँ । १ लाखको लाखको ९ गुणा ९९ लाख० को कपाली तमसुक गराएका थिए ।’
आठ वर्षपछि गुमेको जग्गाको फिर्ता पाएको धनीपुर्जा देखाउँदै उनले खुसी साटिन् ।
मिटरब्याज पीडितले २०८० फागुन १० गते सुनिल साहविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । मिटरब्याजी सुनिलको बस्तीमा उठिबास लगाउने समाचार निरन्तर प्रकाशित भइरहे । उजुरी दिएको पाँच महिनापछि आइतबार लक्ष्मीसहित ६ जनाको जग्गा सुनिलले फिर्ता गरेका छन् ।
जग्गा फिर्ता पाउनेहरूमा विराटनगर १८ लावाघाटकी ५४ वर्षीया सुमित्रा देवी मण्डल, ५६ वर्षीया श्यामसुन्दर साह, मिनादेवी मण्डल र विराटनगर १८ दमादिगीकी पुनम मण्डल छन् । दिलिप अमातको भने मिटरब्याजको नाममा बढी असुलिएको रकम सुनिलले फिर्ता गरिदिएका छन् ।
सुनिलले पीडितकोे कपाली तमसुक पनि फिर्ता गरेका छन् । सुनिलले कब्जा गरिसकेको घडेरी र कपाली तमसुक यति सहजै फिर्ता गर्छन् भन्ने पीडितलाई कल्पना गरेकै थिएनन् । तर मिटरब्याज सम्बन्धी कानुन आएपछि उनीहरूको गुमिसकेको घडेरी फिर्ता भयो ।
खुसी साट्दै लक्ष्मीले भनिन्, ‘सहयोग गर्ने सम्पूर्णप्रति हामी धन्यवाद दिन्छौँ ।’
लावाटोलीका ५६ वर्षीय श्यामसुन्दर साहको ५ कट्ठा ६ धुर, रमानन्द मण्डलकी श्रीमती पुनम मण्डलको नाममा रहेको ४ कट्ठा जग्गा पनि सुनिलले फिर्ता गरिदिएका छन् । दिलिपकुमार अमातले चार वर्षअगाडि लिएको ६ लाख ऋणबापत उनकी श्रीमती अनिता आमातको नाममा विराटनगर–१८ मा रहेको कित्ता नं। ३१७ र ३१६ को १० कट्ठा जग्गा भने सुनिलले फिर्ता गरेनन् । उनले बिक्री गरेको उक्त जग्गा बापतको रकम १ लाख २५ हजार रुपैयाँ भने फिर्ता दिए ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले अहिलेसम्म उजुरी परेकामध्ये १ सय १० जना पीडितलाई जग्गा र पाउने पैसा फिर्ता गरेको बताए । जसमध्ये दुवै पक्ष राख्दा पनि निकास नभएपछि ९० वटा निवेदन अदालत पठाउने तयारी गरिएको उनले बताए ।
‘सजिलो तरिकाले मेलमिलाप हुँदैन । सत्य तथ्यमा पुग्न धेरै समय लाग्छ’, उनले भने, ‘जति ऋण दिएको छ, त्यसको उचित व्याज सावाँसहित दिने सहमति गराउँछौँ ।’