वीरगञ्ज : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिर (भाथाधाम) जलार्पणका लागी बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको लाम देखिएको छ।
साउन महिनाको प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजापाठ गर्ने परम्परा रहेको छ। व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गरेका छन्। यस्तै, वीरगञ्जकै अलखिया मठमा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको छ, जहाँ दर्शनार्थीहरुले नुहाईधुवाई गरी जल चढाएका छन्।
यता काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ।
यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।