सुनसरीमा गत वर्षभन्दा यस वर्ष मकैको उत्पादमा वृद्धि भएको छ । मकै उत्पादनसँगै मूल्यवृद्धि हुँदा किसानलाई राहत मिलेको छ । गत वर्षभन्दा यस वर्ष मकैको उत्पादन र मूल्यमा वृद्धि हुँदा किसानहरुलाई राहत मिलेको हो ।
मकै उत्पादनमा वृद्धि भएसँगै मकैकोे मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष प्रति केजी २५ रुपियाँदेखि ३० रुपियाँमा बिक्री भएको मकै यस वर्ष ३० देखि ३७ रुपियाँसम्म किसानले बिक्री गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार मौसमले साथ दिँदा किसानहरुले समयमै मकै रोप्न पाएकाले तराईका जिल्लाहरुमा गत वर्षभन्दा मकै उत्पादनमा वृद्धि भएको छ । उहाँले भन्नुभयो, “किसानले समयमै मल पाउनु र पानीले पनि साथ दिँदा उत्पादनमा वृद्धि भएको हो ।”
अन्नको भण्डार मानिने तराईका जिल्लामाध्ये सुनसरी जिल्लामा यस वर्ष किसानहरुले १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकै खेती लगाएकोमा ५७ हजार ४६१ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
मकै बिक्रीबाट किसानहरुलाई यस वर्ष फाइदा भएको छ । किसानहरुबाट व्यपारीले घरमै आएर मकै किन्ने गरेका छन् । यस वर्ष मकैको मूल्यवृद्धि भएपछि किसानहरुले मकैको उत्पादन लागत उठाउने भएको श्रीलङ्का टापुका कृषक बद्री राईले बताउनुभयो ।
मकै उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरीमा बढी मकै खेती हुने क्षेत्रहरुमा वराहक्षेत्र, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्रहा नरसिंह गाउँपालिका, हनिनगर गाउँपालिका, कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिकामा व्यवसायिक रुपमा मकै खेती हुने गरेको । किसानहरुले प्रति कठ्ठा पाँचदेखि बाह्र मनसम्म मकै उत्पादन गर्दै आएका छन् ।
भोक्राहा नर्सिङ २ का किसान चन्दन मेहताले तीन बिघामा १६ हजार केजी मकै उत्पादन गर्नुभएको छ । उहाँले ६ लाख ८२ हजारको मकै बिक्री गरेको बताउनुभयो । उहाँ प्रतिनिधि किसान मात्र हो । जिल्लामा मकै लगाउने किसानको सङ्ख्या वर्षेनी बढ्दै गएको छ ।
किसानहरुले उन्नत जातका टिएक्स, पाइनिय र रामपुर कम्पोजिट जातको मकै लगाउँदै आएका छन् । सुनसरीको कुल खेतीयोग्य क्षेत्रफल ८१ हजार ७५६ हेक्टर छ ।