९ चैत,वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिनेछ।
उक्त खेलअघि चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने तय भएका छन्। यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफ लगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिनेछन्।
प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादको सहभागिता रहनेछ।
भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ। हाल घोषणा गरिएको तालिका अनुसार पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबीच खेलिनेछ।
प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइनेछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ। तर लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको छ।
बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गर्दै आएका छन्। लोकसभा चुनावको मिति घोषणापछि बीसीसीआईले आईपीएलको दोस्रो चरणको खेल तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ।