भैरहवा — रूपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सीटी अस्पतालमा मुटु रोगको विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । भैरहवा र आसपासबाट हृदयसम्बन्धी रोगको उपचारका लागि बुटवल धाउनुपर्ने बाध्यता अन्त्यका लागि अस्पतालले शनिबारदेखि विशेषज्ञ चिकित्सकीय सेवासहित मुटुरोग विभाग सञ्चालनमा ल्याएको जनाएको छ ।
अस्पताल भवनको पहिलो तलामा स्थापना गरिएको विभागको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले उद्घाटन गरेका थिए । यसअघि बालरोग, गाइनो, मृर्गौला, न्युरो सर्जरी लगायत विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले स्थानीय बासिन्दाको मागबमोजिम मुटुरोग विभाग स्थापना गरेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले ७ वर्षअघि मायादेवी–८ स्थित एयरपोर्ट रोडमा अस्पताल भवनको शिलान्यासका क्रममा व्यक्त गरेको प्रतिबद्धता अनुसार मुटुरोग विभाग सञ्चालनमा ल्याएको बताए । ‘अत्यन्त संवेदनशील सेवा भएकाले केही ढिलो भयो,’ उनले भने, ‘अहिले उच्चस्तरीय उपकरण जडान गरेर सेवा सुरुवात गरेका छौं ।’ मुटुरोग परीक्षण र उपचारका लागि जरुरी ईको, इसीजी, टीडीयू, सीसीयूका उपकरणसँगै र आधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको उनले बताए ।
अस्पतालले नयाँ विभागमा बंगलादेशको ढाकामा अध्ययन गरेका मुटुरोग विशेषज्ञ चिकित्सक सुधीरप्रसाद शाहको नेतृत्वमा उपचार सेवा प्रदान गरिने जनाए । अनुभवी चिकित्सक र नर्सिङ समूह बनाएर सेवा सञ्चालनमा ल्याएकाले सर्वसाधारणले गुणस्तरीय सेवा प्राप्त गर्ने पौडेलले बताए । ‘पोलिक्लिनिकबाट सेवा सुरु गरेका थियौं,’ उद्घाटन कार्यक्रममा पौडेलले भने, ‘नागरिक समाज, व्यवसायी र दक्ष चिकित्सकको मद्दतले अहिले सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सफल भयौं ।’