सोलुखुम्बुको थामेमा शुक्रबार आएको भीषण बाढीले पर्यटकीय क्षेत्र खुम्बु प्रवेश गर्ने बाटोमा रहेको पहिलो पुल नै भत्काएको छ।
मितेरी पुल भनेर चिनिने दूधकोशी नदी माथिको यो फलामे पुलले सोलुखुम्बुका दुई पालिका माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई जोड्थ्यो।
शुक्रबार थामे खोलाको बाढी दुधकोशीमा मिसिएपछि दुधकोशीको जलसतह ह्वात्तै बढेको थियो।
‘पुलमा बाढीले क्षति गर्दा माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको सडक सम्पर्क टुटेको छ’, शनिबार बिहान रक्षामन्त्री मानबीर राईसँगै घटनास्थलमा पुगेका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले भने ‘ सोलु सदरमुकाम सल्लेरीदेखि लुक्ला हुँदै सगरमाथा आधार शिविर जोड्ने सडक खण्ड अन्तरगत पाँच वर्षअघि निर्माण गरिएको ट्रष्ट पुल बाढीले क्षति गरेको हो।’
उनका अनुसार दुधकोशीको बाढीले माप्य दुधकोशी गाउँपालिकातर्फको पुलको डिल नै भत्काएको छ। सडक समेत कटान गरेर क्षति पुर्याएको छ
पुलको माप्य दुधकोशी–१ तर्फको भाग सडकभन्दा झण्डै दुई मिटर तल खसेका कारण पुलबाट सवारी साधन आवत जावत बन्द भएको छ।
तत्कालीन संघीय सांसद हेमकुमार राईको संसदीय विकास कोषबाट १ करोड, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त लगानी गरी कुल ७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँको लागतमा यो पुल निर्माण भएको थियो।
४८ मिटर लामो र ६ मिटर चौडाइको पुलको उद्घाटन २०७७ मंसिर ६ गते कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए।
पुल बनेपछि खुम्बु क्षेत्रमा सल्लेरीदेखि मालबाहक गाडी चल्दा हिमाली क्षेत्रमा महँगोमा सामाग्री किन्नुपर्ने बाध्यता हट्दै गएको थियो।
‘सर्वसाधारणले पनि हिउँद बर्षा नै सहज रुपमा यातायातका साधन संचालन गर्न पाएका थिए’, सांसद राजभण्डारीले भने ‘बाढीले अहिले पुल नै क्षतिग्रस्त बनाएको छ। यसले असहज अवस्था सिर्जना भएको छ।’