पोखरा । पोखराका केही फ्रेस हाउसले मानव स्वास्थ्यमै गम्भीर असर पार्ने गरी कुहिएका माछामासु बेच्ने गरेको भेटिएको छ । पोखरा महानगरपालिकाले यहाँका फ्रेस हाउस र माछा पसलमा गरेको अनुगमनबाट झण्डै साढे २ क्वीन्टल कुहिएको माछामासु भेटिएपछि खाल्डोमा पुर्नुपरेको छ ।
पृथ्वीचोक चाइनापुलमुनि बन्दै गरेको नयाँ पुलको दक्षिणतर्फ लालचन फ्रेस हाउस नामको पसल छ । आइतबार बिहान अनुगमन पुग्दा सुरुमा ठिकठाकै देख्यो । तर शंका लागेर फ्रेस हाउसभित्र छिर्दा पसल भित्रभित्रै फैलिएको रहेछ । केही मिटर अघि बढ्दा बाहिर निस्कने ढोका लक थियो । बाहिरबाटै चुक्कुल लगाएको । महानगरको प्रहरी टोलीले अर्को बाटो हुँदै उक्त फ्रेस हाउसको ट्वाइलेट छेउ पुग्यो । त्यहाँ बोराले ढाकिएको अवस्थामा कुहिएका करिब एक सय केजी माछा पत्ता लाग्यो ।
सुरुमा टाठै बोलेका संचालक लाल चन्द रातोपिरो भए । उनले अकमकाउँदो ‘यो बिग्रिएको हो, अहिले फाल्न गाडी आउँछ’ भनी टार्न खोजे । स्थानीयका अनुसार उक्त पसलबाट पोखराका विभिन्न ठाउँमा माछा सप्लाइ हुँदोरहेछ । अनुगमन टोलीले चिट काटेर ती संचालकलाई दिउँसो जिल्ला प्रशासन कार्यालय आउन निर्देशन दियो । र, कुहिएको माछा नष्ट गर्नका लागि सकीनसकी गाडीभित्र राखियो ।
त्यसअघि, अनुगमन टोलीले पृथ्वीचोककै राजु फ्रेउस हाउसबाट ८० केजी कुहिएको माछा बरामद गरी गाडीमा हालिसकेको थियो । त्यो पसलको अनुमगन पहिले पनि भएको रहेछ । तर, संचालक किशोर शाहले अझै पनि कुहिएको माछा बेचिरहेको भेटिएपछि उनलाई दोब्बर जरिवाना गर्ने भनी चिट दियो । बिहान पोखरा चिप्लेढुंगास्थित श्रीकम्प्लेसमा रहेका विभिन्न माछापसल तथा फ्रेस हाउस अनुगमन गरिसकेपछि टोली अनुगमनको आखिरीतिर पृथ्वीचोक पुगेको थियो । तर, अनुगमन भएको सुइँको पाएपछि ती संचालकले पसल त सफासुग्घर पारिसके पनि डि–फ्रिजमा ८० केजी कुहिएको माछा लुकाइसकेका रहेछन् । प्रहरीले एकएक गरी माछा बाहिर निकाल्दा त्यहाँ गन्हाएर बसीखानु भएन ।
श्रीकम्प्लेक्सभित्रका सबैजसो माछा पसल पनि उस्तै रोग थियो । विष्णु÷धर्मराज ढुंगाना संचालक रहेको नमूना मत्स्य केन्द्रको शौचालय नजिकै कुहिएको माछा पाइयो, शिवलाल साह संचालक रहेको सुरज फिस हाउसले पनि कुहिएको माछा बेचेको भेटियो, नजिकैको न्यू सुमन फिस हाउसमा पनि त्यस्तै थियो । न्यू रमेश फिस हाउसमा १३ केजी कुहिएको माछा पाइयो । सिर्जनाचोकस्थित जस्मिन फ्रेस हाउसमा ७ केजी माछा कुहिएको भेटियो । मोहम्मद जाकिर हास्मी संचालक रहेको यो पसलले केही वर्षअघि खसीको भन्दै बाख्राको मासु बेचेको खुलासा भएपछि कारबाहीमा परेका थिए । नजिकैको लालचन फिस सप्लायर्स र संदाम फ्रेस हाउसमा पनि खसीको ८, माछा ४ केजी बरामद भयो ।
यसरी चिप्लेढुंगा, सिद्धार्थचोक, सिर्जनाचोक, पृथ्वीचोकमा गरी १७ पसलमा अनुगमन गर्दा अधिकांश पसलले कुहिएको माछामासु बेच्ने गरेको, सरसफाइ हेक्का नराखेको, पसल दर्ता नगरेको, गरे पनि नवीनकरण नगरेको, सिसा, जाली नलगाई खुला मासु बेच्ने गरेको छ, डिफ्रिज नभएको, फोहोर पानीको प्रयोग गरेको, दुर्गन्ध फैलिएको भेटियो । बजारमा मूल्यवृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुजन्य तथा खाद्य सामग्री बिक्रीवितरण भैरहेको व्यापक जनगुुनासोपछि महानगरले चालु आवको पहिलो चरणमा माछामासु पसलमा अनुगमन गरेको महानगर उपप्रमुख एवं बजार अनुुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।
खान योग्य नभएको २१९ केजी माछा र १५ केजी खसीको मासुु गरी २३४ केजी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरको बायोपिटमा पुरिएको अनुगमनमा संलग्न केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए । पोखरा महानगर बजार अनुुगमन समिति सदस्यसचिव अनिल कार्कीका अनुसार कारबाहीमा परेकालाई जिल्ला प्रशासनमा सोही दिन उपस्थित गराई जरिवाना असुल गरिएको छ । १७ मध्ये १० वटा माछा पसललाई बढीमा ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलनसमेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए ।
१०० केजी माछा जफत भएको पृथ्वीचोकको लालचन फिस सप्लायर्स र ८० केजी माछा जफत भएको राजु फिस हाउसलाई जनही ५० हजार जरिवाना गरिएको छ । एउटै संचालक रहेका लालचन फिस सप्लायर्स र संदाम फ्रेस हाउसलाई ३० तथा जस्मिन फ्रेस हाउसलाई ३० हजार जरिवाना भयो । श्रीकम्प्लेक्सको न्यू रमेश फिस हाउसबाट २० हजार असुल भयो । न्यू सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्रलगायतलाई १५ हजारसम्म जरिवाना असुल भएको छ । केहीलाई कसूरको प्रकृतिअनुरुप चेतावनीसहित आइन्दा गल्ती नदोहो¥याउने भनी छोडिएको छ ।
अनुुगमन संयोजक उपमेयर गुुरुङले विगतमा भएका अनुुगमनले बजारमा केही सुुधार देखिएको भए पनि सोचे जस्तो नदेखिएको अब नियमित अनुुगमन गरिने बताइन् । यस वर्ष चाडपर्व अगावै अनुुगमन थालनी भएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भीष्मराज अर्यालले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐनअनुसार कारबाही गरिएको बताए ।