५ भदौ,काठमाडौँ । संघीय संसद्अन्तर्गत बुधबार ६ वटा समितिको बैठक बस्दैछ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची संसद् सचिवाले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेछ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा ‘सुशासन’ र यसको प्रवर्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ। बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारका विषयमा छलफल गर्न महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ। बैठक दिउँसो ३ः४५ बजे बस्ने सचिवालयले जनाएको छ।