मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने धेरैलाई थाहा छैन ।
तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छन् ।
शुरूमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम गरेको उनले बताइन् ।
घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ, उनले भनिन् । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनी बताउँछिन् । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ ।
अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् ।
यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताइन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उनले बताइन् ।