सिरहा– २०४६ का जनान्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनर्स्थापनापछि लौह पुरुष उपनामले सम्वोधन गरिन्थ्यो । पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण उनको छवि नेपाली जनमानसमा ध्रुवतारा जस्तै चम्किलो भएको थियो । सबै राजनीतिक दलका लागि पाच्य र ग्राह्य व्यक्तित्व उनै गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको छ । पूर्व–पश्चिम राजमार्ग ४ लेन विस्तार गर्ने क्रममा सोनापुर चोकस्थित गणेशमान उद्यान भत्काइएको छ ।
प्रतिमा फाउण्डेसनदेखि नै उखेलेर राखिएको छ । अब यो उद्यान कहाँ बनाउने, कसले बनाउने र गणेशमान सिंहको प्रतिमा कहाँ लगेर स्थापना गर्ने कसैलाई चासो छैन । सडकको किनारमा लौह पुरुषको प्रतिमा वेवारिसे अवस्थामा फालिएको दृश्य ज्यादै कुरुप देखिन्छ । प्रतिमाको बिजोग भएको छ ।
नेपाली कांग्रेसका स्थानीय नेता तथा लौह पुरुष उद्यान निर्माणमा सक्रिय राम दयाल यादव भन्छन् – ‘२०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनु भएको थियो । मेरै घरमा बसेर कार्यकर्ताहरुसँग भेटघाट गर्नु भयो । प्रजातन्त्र पुनर्स्थापना पश्चात सुशिलचन्द्र अधिकारी, गोपाल बहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौं । गणेशमान फाउण्डेशनबाट ३० हजार रुपैयाँ र प्रतिमा उपलब्ध गराइएको थियो । गणेशमान सिंहका सुपुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि यहाँ आएर प्रतिमामा माल्यार्पण गर्नु भएको छ ।’
प्रजातन्त्र पुनर्स्थापना पश्चात २०५० सालमा नेपाली कांग्रेसका स्थानीय पुराना पुस्ताका कार्यकर्ताहरु गोपाल बहादुर राउत, सुशिलचन्द्र अधिकारी र रामदयाल यादवको सकृयतामा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नं।११ सोनापुर चोकमा राजमार्गसँगै प्रजातन्त्रका नायक ‘लौह पुरुष गणेशमान सिंह’ को अर्धकदको प्रतिमा स्थापना गरेका थिए । सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो । मधेश आन्दोलन २०६३ मा पनि यस प्रतिमामा क्षति पुर्याइएको थियो ।
प्रतिमा स्थापना गर्ने मध्येका एक राम दयाल यादव भन्छन् – ‘बडो मुस्किलले अनुनय–विनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौं । अहिले सडक बिस्तार गर्ने क्रममा भताभुङ्ग पारियो ।’ गणेशमान सिंहको एद्यान निर्माता गोपाल बहादु राउतले ८५ वर्ष नाघेका छन् । उनी यस ठाउँबाट काठमाडौं बसाईँ सरे । उनी हिँडडुल गर्न सक्दैनन्, त्यसकारण सोनापुर आउन असमर्थ छन् । अर्का संस्थापक सुशिल चन्द्र अधिकारी अहिले राजतन्त्र पुनर्स्थापना आन्देलनमा सकृय छन् । राम दयाल यादव भन्छन् दशैंपछि यसको व्यवस्थापन गर्न कुनै उपाय गर्नुपर्ला ।