वीरगञ्ज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चर्चित सामाजिक संजाल प्लेटफर्म टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेका हुन्, जसलाई आज नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार, मन्त्री गुरुङले टिकटक प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा हस्ताक्षर गरी क्याबिनेटमा पेस गरेका छन्। यदि क्याबिनेटले यस निर्णयलाई पारित गरे, भने देशभर प्रतिबन्धित भएको टिकटक पुनः सञ्चालनमा आउनेछ।
गत असोज २७ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यो निर्णय टिकटकमा देखिएका सामग्रीहरू नेपाली समाजको सामाजिक सद्भावलाई बिगार्ने आरोपमा लिइएको थियो। सरकारले टिकटकको लाइभ स्ट्रिमिङ र छोटा भिडिओहरू समाजसँग मेल नखाने भन्दै प्रतिबन्ध लगाएको थियो। चीनले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न आग्रह गरेको थियो।
प्रतिबन्ध हटाउनका लागि टिकटकका उच्च तहका अधिकारीहरूले नेपाल भ्रमण गर्दै विभिन्न प्रयासहरू गरेका थिए। उनीहरूले सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेटघाट गरेका थिए, तर प्रचण्ड सरकारको कार्यकालमा यो प्रतिबन्ध हटाउन सकिएको थिएन। चीनले नेपालले यो निर्णय पश्चिमाहरूको दबाबमा लिएको आरोप लगाएको थियो।
यसैबीच, प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा मुद्दा दायर भए पनि अदालतले तत्काल सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश दिन अस्वीकार गरेको थियो। अब, क्याबिनेटले यस निर्णयलाई पारित गरेसँगै देशभर टिकटक पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। क्याबिनेटबाट निर्णय पारित भएपछि, मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ, जसबाट आजदेखि नै टिकटक सञ्चालनमा आउने सम्भावना रहेको छ।