बारा । बारा र रौतहट लगायतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको कारोबार गर्दै आएका एक व्यक्ति बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति रौतहट फतुवा बिजयपुर वडा नम्बर ७ का २४ वर्षीय रामबिनय प्रसाद पटेल हुन्, जो ध्यानी राउत कुर्मिका छोरा हुन्।
पटेल विभिन्न लागुऔषधका मुद्दामा फरार थिए, र धेरै पटक पक्राउ पुर्जी जारी भए पनि उनलाई पक्राउ गर्न प्रहरीले सफल भएको थिएन। यद्यपि, बुधबार इलाका प्रहरी कार्यालय निजगढले उनलाई बाराको निजगढ नगरपालिका वडा नम्बर ९, सहिद चोकबाट पक्राउ गर्न सफल भएको हो। यसबारे इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिएका छन्।
यसअघि, असार १ गते निजगढ नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय विकास रुम्बालाई प्रहरीले २५० पिस ट्रामाडोल ट्याबलेटसहित पक्राउ गरेको थियो। रुम्बाले पटेलसँग उक्त ट्याबलेट खरिद गरी निजगढका विभिन्न प्रयोगकर्तालाई वितरण गर्दै आएका थिए। रुम्बाको बयानको आधारमा प्रहरीले पटेललाई पक्राउ गर्न सफल भएको हो।
पटेल इलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्दा नम्बर ८० मा फरार प्रतिवादी रहेका थिए। यसैगरी, साउन १३ गते पर्सा प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई १ लाख १७ हजार पिस ट्रामाडोल ट्याबलेटसहित पक्राउ गरेको थियो। उनीहरू भारतबाट नेपालमा लागुऔषध भित्र्याउने क्रममा पक्राउ परेका थिए।
पछिल्लो समय बाराको निजगढबाट लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूको पक्राउको क्रमले यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएको देखाएको छ। प्रहरीको तथ्यांक अनुसार, भारतबाट नेपालमा ट्रामाडोल ट्याबलेटलगायतका लागुऔषध आयात हुने गरेको छ भने, विशेष गरी गाजा भारततर्फ निर्यात हुने गरेको छ।