बारा । बाराको महागढीमाई नगरपालिकाले विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तीव्रता दिएको छ । महागढीमाई नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपालिको मेला ऐतिहासिक र अविस्मरणीय बनाउने उद्देश्यले विभिन्न तयारीहरू द्रुत गतिमा भइरहेको छ ।
बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने यो मेला, यस वर्ष आश्विन १७ गते औपचारिक रूपमा उद्घाटन गरिने कार्यक्रम तय भएको छ । मेलालाई व्यवस्थित बनाउन र श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मका विस्तृत योजनाहरू बनाइएका छन् । नगर प्रमुख यादवले दक्ष प्राविधिक टोलीद्वारा पार्किङ व्यवस्थापनको कार्य सम्पन्न भएको र खानेपानी व्यवस्थापनका लागि सार्वजनिक धाराहरूको जडान कार्य पनि शुरु भएको जानकारी दिए ।
मन्दिर परिसरबाहिर पूर्व, पश्चिम, उत्तर, र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन, र दुई पाङ्ग्रे सवारी साधनका लागि पार्किङ स्थलहरूको छनोट गरिसकिएको छ । साथै, मेलाको प्रचार–प्रसार र उद्घाटन कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारीहरू पनि भइरहेको यादवले बताए ।
उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न शक्ति पीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायतका विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने कार्य सुरु भइसकेको छ । मेला समितिले यस वर्षको गढीमाई मेलालाई दसैँको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभा यात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना बनाएको छ । नगर प्रमुख यादवले मेलाको तयारीको ८० प्रतिशत कार्य पूरा भइसकेको पनि जानकारी दिए ।
यसपालिको गढीमाई मेला धार्मिक आस्था र सांस्कृतिक महत्त्वको प्रतीक बनेर, नेपाल र भारतका लाखौँ श्रद्धालुहरूको सहभागितामा भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।