वीरगंज वडा नम्बर ७ का बासिन्दा सन्जय जयपुरियाले मालपोत र नापी कार्यालयका कर्मचारीहरूको लापरबाहीका कारण आफ्नो श्रीमती शान्ति कुमारी मारवाडीको नाममा रहेको जग्गा अरूको नाममा बिक्री भएको गम्भीर आरोप लगाएका छन्।
जयपुरियाले वीरगञ्जको होटेल वीरगञ्ज गेटवेमा आयोजित पत्रकार सम्मेलनमा १५ वर्षअघि, २०६७ साल असार ४ गते, वीरगञ्ज वडा नम्बर ७ मा माईस्थान स्कुल पछाडि स्थित कित्ता नम्बर ७७ को ६.५ धुर जग्गा, जुन पुरानो घरसहित खरिद गरिएको थियो, हालसम्म आफूहरूले भोगचलन गर्दै आएको जानकारी गराए। यसबाहेक, उक्त जग्गाको सम्पत्ति कर वीरगञ्ज महानगरपालिकालाई तिरेको समेत उल्लेख गरे।
तर, एक वर्ष अघि घरायसी प्रयोजनका लागि बैंकबाट ऋण लिनुपर्ने अवस्था आएपछि जग्गा रोक्का गर्न मालपोत कार्यालय पुगेका जयपुरियाले उक्त जग्गा अरूको नाममा बिक्री भएको पत्ता लगाए। उनले मालपोत र नापी कार्यालयमा धाइरहँदा पनि समस्या समाधान नभएको र एक वर्ष बितिसकेको बताए। मालपोत कार्यालयले गल्ती भएको स्वीकारे पनि समस्या समाधान नगरी विभिन्न बहानामा आलटाल गरिरहेको उनले आरोप लगाए।
जयपुरियाले नापी कार्यालयमा जाँच गर्दा कित्ता नम्बर ६९ को जग्गा ४ कित्ता काटेर राजकुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, र निर्मला देवीको नाममा पास गरिएको देखिएको र १ कित्ता अझै बिक्री नभएको जानकारी पाए। यसका साथै, कम्प्युटर रेकर्डमा कित्ता नम्बर ६९ को इन्ट्री बदर देखिएको पनि उल्लेख गरे।
यस समस्याका सम्बन्धमा एकजनाले फोन गरी काम गरिदिने शर्तमा ३ लाख रुपैयाँ मागेको समेत उनले खुलासा गरे। तर, उनले उक्त व्यक्तिको पहिचान गर्न नसकेको र आफूले त्यो रकम किन दिनुपर्ने भन्ने सोच रहेको बताए।
अहिलेसम्म अख्तियार र अदालतमा नगएको बताउने जयपुरियाले, यो पत्रकार सम्मेलनको माध्यमबाट सत्यतथ्य सार्वजनिक गरी न्याय पाउने आशा व्यक्त गरे।