पर्सा : नियमित मर्मतसंभार अभावमा गण्डक नहर अन्तर्गत पर्सा–बारामा रहेका अधिकांश संरचना जीर्ण भएका छन् । दुवै जिल्लामा सानाठूला गरी नहरमा २२ पुल रहेकोमा तीमध्ये बाराको फेटा गाउँपालिकामा बंगरी खोला, पर्साको वीरगन्ज महानगरपालिकामा सिर्सया खोला र जगरनाथपुर गाउँपालिकामा ओरिया खोलामा रहेको पुल अत्यन्त जीर्ण भएका छन् ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई गण्डक नहर र यससँग जोडिएका संरचना हस्तान्तरण गरेको थियो ।पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । ८१ किमी लामो यो नहरले त्यतिबेला पर्सा, बारा र रौतहट गरी ३ जिल्लाको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिंचित गर्ने लक्ष्य थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ ।
भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । नहरसँगै निर्माण गरिएको एप्रोच सडक र उक्त सडकमा रहेको पुल तीन वटै जिल्लाका बासिन्दाले हुलाकी सडकको बिकल्पको रुपमा प्रयोग गर्दै आएका छन् ।
संघीय सरकारले रौतहटदेखि पर्सासम्म यो एप्रोच सडक कालोपत्रे समेत गरिसकेको छ । तर यस क्रममा जीर्ण पुलहरु मर्मत सम्भार वा तिनको स्थानमा नयाँ बनाउने कुनै योजना छैन । सडक कालोपत्र भएपछि उक्त सडकको प्रयोग झनै बढेको छ । यसले जीर्ण पुलहरुमा थप भार बढ्कोे छ ।
नहरको एप्रोच सडक पर्सादेखि रौतहट तीन वटै जिल्लाको बैकल्पिक लाइफलाइनको रुपमा रहेको छ । तीन वटै जिल्लालाई हुलाकी सडक पछि यही सडकले जोडेको छ । त्यसकारण पनि यो सडक र यसमा रहेका पुल तीन वटै जिल्लाका बासिन्दाका लागि अत्यन्त उपयोगी छन् ।
यो सडकमा एउटा पनि पुल क्षति भएमा ग्रामीण भेगका बासिन्दालाई आवागमनमै ठूलो समस्या हुन्छ । बिशेषगरी दैनिक आवागमनदेखि कृषि उपज बिक्री गर्ने किसानलाई पनि यो सडकको अत्यन्त उपयोगी साबित भइरहेको छ ।
वीरगन्जमा जगरनाथपुर क्षेत्रमा डेढ दशकयता औद्योगिकीरण तीब्र रुपमा बिस्तार भएपछि यो सडक भएर दैनिक ठूलो संख्यामा मालबाहक सवारीसाधन आवागमन गर्छन् । त्यस भेगमा रहेको सिर्सिया खोलाको पुल अत्यन्त कमजोर भएकाले पुल भत्किए औद्योगिक क्षेत्र समेत प्रभावित हुने सम्भावना छ ।
२०४६ अघिसम्म नहरको एप्रोच सडक कार्यालयले आफ्नो निजि प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएकोमा त्यसपछिको राजनीतिक परिवर्तनपछि सर्वसाधारणको प्रयोगका लागि समेत यो सडक खुल्ला गरिएको थियो । तर एप्रोच सडक अत्यधिक प्रयोग हुन थालेपछि त्यसमा रहेका पुलको सामान्य मर्मत सम्भार समेत नगरिँदा पुलहरुको अवस्था हाल नाजुक छ ।
हाल गण्डक नहर तथा यसका संरचनाको व्यवस्थापन एवम् जिम्मेवारी नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जले गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेशप्रसाद साह पर्सा बारामा नहरको एप्रोच सडकमा रहेका २२ मध्ये ३ पुल अत्यन्त जीर्ण भएको बताउँछन् ।
‘बंगरी, सिर्सिया र ओरिया खोलाको पुल तत्कालै मर्मत सम्भार नगरिए जुनसुकै बेला ठूलै जोखिमको सम्भावना छ,’ उनले भने, ‘कार्यालयसँग पुल मर्मत सम्भार तथा निर्माण प्रयोजनका लागि छुट्टै बजेट छैन, हामीले नहर प्रणालीको सन्चालन र मर्मत सम्भारको मात्र जिम्मेवारी वहन गरेका छौं ।’
साहले पुल मात्र नभई समग्रमै तीन वटै जिल्लामा नहर प्रणाली जीर्ण भइसकेको बताए । ‘नहर र तिनका अधिकांश संरचनाको सरदर ५० वर्ष आयु हो, अहिले करिब ४५ वर्ष भइसकेको छ,’ उनले भने, ‘मूल नहर मात्र नभई नहरका अधिकांश ढोका, साइफन समेत जीर्ण भइसकेका छन् ।’
साहले जीर्ण नहर प्रणालीको पुर्ननिर्माणका लागि विस्तृत सर्भेक्षण तथा डिपिआर तयार गर्न लगत इष्टिमेटसहित संघीय जलस्रोत तथा सिंचाई बिभागमा पठाइसकेको बताउँछन् । उनले भने, ‘नहर प्रणाली तत्कालै मर्मत सम्भार तथा सुधारका लागि मेजर रिह्याब्लीटेशन शैलीमा लानु पर्छ ।’ सभार कान्तिपुर