मानव बेचबिखन तथा ओसारपसार आज विश्वभर मानवीय सुरक्षा, संगठित अपराध नियन्त्रण, मानवअधिकारको संरक्षण र सम्वद्र्धनका सन्दर्भमा एक गम्भीर चुनौतीका रूपमा देखा परेको समस्याको रूपमा रहेको छ ।
आमरूपमा मानव बेचबिखन तथा ओसारपसारलाई बालिका र महिलाहरूको यौन शोषणका लागि हुने गरेको संगठित अपराधको रूपमा बुझिने गरेको भए पनि यसको राजनीतिक, विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक आयाम पनि रहेको छ ।
पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा अन्तर्राष्ट्रिय कूटनीति र विश्व व्यवस्थाका राजनीति अत्यन्तै पेचिलो र प्रभावशाली बन्दै गएको हामी देख्न सक्छौं । यसै सन्दर्भमा नेपालमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा विविध कार्यक्रम भइरहँदा यस विषयको सुरक्षा कूटनीतिको पक्षलाई उजागर गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
सामान्यतया मानव बेचबिखन भन्नाले निजी लाभका निम्ति अन्य व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा लैजाने, ल्याउने, प्राप्त गर्ने, बन्दी बनाउने, बेचबिखन गर्ने, किन्ने र बाध्यकारी रूपमा श्रममा संलग्न गराउने कार्यहरू पर्दछन् । मानव बेचबिखनका घटनाहरू कुनै पनि घटनाको प्रक्रिया र उद्देश्यको शृंखलाबद्ध कार्यहरूको सम्बन्धका आधारमा निर्क्योल गर्ने गरिन्छ ।
यसमा मूलतः कार्य, स्थानान्तरण प्रक्रिया र शोषणको उद्देश्य तीन पक्षको शृंखलाबद्ध उपस्थितिलाई अनिवार्य मानिएको छ । यस अर्थमा मानव बेचबिखन देशभित्रै, महिलालाई मात्र नभई पुरुषहरूको पनि, यौनशोषण मात्र नभई श्रमशोषणका लागि पनि, प्रणालीको सुरुवातमा स्पष्ट नदेखिए पनि ओसारपसारका शृंखलामा कुनै पनि बखत बेचबिखनको मार्गमा रूपान्तरण हुनसक्ने सम्भाव्य घटनाको रूपमा हेरिनुपर्दछ ।
मानव बेचबिखनको कार्यमा प्रक्रिया र उद्देश्यको शृंखलाबद्ध सम्बन्ध स्थापित गर्न नसक्दा कतिपय अपराधहरू प्रमाणित हुन नसकेको, पीडितले न्याय प्राप्त गर्न नसकेको र कतिपय तथ्यांकहरू लुकेको साथै कतिपय घटनाहरू बढाइँचढाइ प्रचार भएको पनि हामीले पाएका छौं ।
मानव बेचबिखन र कूटनीतिको सम्बन्ध
मानव बेचबिखन विरुद्धको तथ्यांक सहकार्य सीडीटीसीको प्रतिवेदन अनुसार सन् २०२४ मा मात्र विश्वभर २ लाख ६ हजार ५४९ मानव बेचबिखनका घटनाहरू रेकर्ड गरिएका छन् । जसमा १९० देशका नागरिकहरू पीडित र प्रभावित भएका छन् भने १९४ देशमा शोषण भएको देखिन्छ । यसबाट मानव बेचबिखनको विश्वव्यापी आयामलाई बुझ्न सकिन्छ ।
कुनै पनि घटना विश्वव्यापी आयामका साथ प्रसार हुन्छ भने त्यो केवल एक देशको वा देशभित्रको वा कुनै निश्चित क्षेत्रको समस्याको रूपमा मात्र रहँदैन, दुइ देश वा सोभन्दा बढी देशहरूको भूमि, नागरिक, मार्ग, मुद्रा, प्रवेशाज्ञा प्रयोग भएको सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसारको सवाल अन्तर्राष्ट्रिय सरोकारको विषय बन्न पुगेको हो ।
यसै सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी संगठित अपराधको एक हिस्साको रूपमा लिएका कारण संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय संगठित अपराध नियन्त्रण गर्ने महासन्धिको एक विशेष प्रलेखको रूपमा मानव बेचबिखन विशेषगरी महिला र बालबालिकामा हुने बेचबिखन नियन्त्रण सम्बन्धी प्रलेख समेत अनुमोदन गरिसकेको छ । नेपाल समेत सो प्रलेखको अनुमोदन गरी पक्ष राष्ट्र बनेको अवस्था रहेको छ ।
मानव बेचबिखन तथा ओसारपसारका घटनाहरूको विश्वव्यापी व्यापकता, प्रभाव र प्रयोगले मात्र मानव बेचबिखनको मुद्दा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयको चासो बनेको हैन । यस समस्याका कारण, यसका सहयोगी पक्षहरू पनि यस सवाललाई अन्तर्राष्ट्रिय चासो र द्विपक्षीय तथा बहुपक्षीय सरोकारको विषयको रूपमा स्थापित गर्ने आधार बनेको छ ।
मानव बेचबिखनको कारण र बजारलाई हेर्ने हो भने विश्वव्यापी रूपमा देखापरेका मानवीय संकटका सन्दर्भहरू प्रमुख रूपमा रहेको पाइन्छ । विशेषगरी युद्ध, आन्तरिक द्वन्द्व र प्राकृतिक विपद् एवं पर्यावरणीय संकटका कारण प्रभावित समुदायका व्यक्तिहरू मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको र उक्त अपराधबाट पीडित भएको पाइने गरेको अध्ययन अनुसन्धानहरूले प्रमाणित गरेका छन् ।
नेपालकै सन्दर्भमा समेत माओवादी सशस्त्र द्वन्द्वको समयमा विस्थापित किशोरकिशोरीहरू, महिला पुरुषहरू, वयस्क मनोरञ्जन व्यवसाय, वैदेशिक रोजगार र वैदेशिक अध्ययनका नाममा ओसारपसार तथा बेचबिखनका शिकार हुने क्रम व्यापक बढेको पाइएको छ ।
द्वन्द्वका दौरान फस्टाएको वैदेशिक रोजगार व्यवसाय, वैदेशिक अध्ययन परामर्श व्यवसायको दीर्घकालीन प्रभावको रूपमा नेपाली समाजमा पपुलिज्मको उदय, श्रमशक्तिको अभाव, सामाजिक नैराश्यता र उपभोक्तावादी प्रवृत्तिको विकास र विस्तार भएको हामीले आफैं अनुभव गरिरहेका छौं ।
अर्कोतर्फ युद्ध तथा सशस्त्र द्वन्द्व बाध्यकारी श्रम र यौन श्रमको उच्च माग जन्माउने परिवेश पनि हो । विशेषगरी द्विदेशीय द्वन्द्व र आन्तरिक द्वन्द्वका सन्दर्भमा सैनिकहरूलाई अनौपचारिक रूपमा मानसिक यौन तनावबाट मुक्त राख्न सैन्य उद्यम चलाएका देशहरूले ती क्षेत्रमा हुने यौन व्यवसायप्रति आँखा चिम्लने गरेको पाइन्छ ।
अर्कोतर्प: हतियार, लागूऔषध र मानव तस्करीको अपराध एकै सिन्डिकेटबाट एकीकृत ढंगले सञ्चालन हुने हुँदा युद्ध, द्वन्द्व, लागूऔषध विस्तारले मानव बेचबिखनको बजार, पीडित र प्रभावितहरूको संख्या विस्तारको दुश्चक्रमा समाजलाई धकेलिरहन्छ र यसबाट मूलतः गरिब, अल्पविकसित, दक्षिणभूमिका देशहरू नै बढी प्रभावित हुने अवस्था रहन्छ ।
सन् २०१९ को तुलनामा सन् २०२० मा मानव बेचबिखन तथा ओसारपसारका घटनामा ११ प्रतिशतले कमी आएको र यौनशोषणका लागि हुने मानव बेचबिखनका घटनामा २४ प्रतिशतले कमी आएको देखिन्छ ।
अन्तर्राष्ट्रिय द्वन्द्व र अन्तर्राष्ट्रिय तहमा हुने हतियार व्यापार तथा लागूऔषध तस्करी अन्तर्राष्ट्रिय सुरक्षाको गम्भीर चिन्ता, चासो र मुख्य सरोकारको विषय भएको हुँदा मानव बेचबिखन अन्तर्राष्ट्रिय सुरक्षा कूटनीतिको महत्वपूर्ण सवालको रूपमा रहेको छ भन्नु अतिशयोक्ति हुँदैन ।
विश्व अर्थ–व्यवस्था, गरिबी, असमानता र मानव बेचबिखनको सम्बन्ध पनि उत्तिकै बलियो छ । आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय संगठन र वल्र्ड बैंकको अध्ययन (२०२२) ले आर्थिक संकट र झट्का, आयको असमानता र गरिबीले मानव बेचबिखन तथा ओसारपसारको जोखिमलाई गुणात्मक ढंगले बढाउने निष्कर्ष प्रस्तुत गरेको छ ।
विशेषगरी विश्व खाद्य संकट, महामारीका कारण देखापरेको रोजगारीका अवसरहरूको कटौती र खाद्य मूल्यमा भएको उच्च वृद्धिबाट गरिब तथा अल्पविकसित मुलुक र समुदायका मानिसहरू मानव बेचबिखनको उच्च जोखिममा रहेको उक्त अध्ययनले बताएको छ ।
आर्थिक असमानता, आर्थिक संकट र दबाब, रोजगारीका अवसरको संकुचन र खाद्यान्नको उच्च मूल्यवृद्धिका पछाडि देशको आन्तरिक अर्थ व्यवस्था मात्र जिम्मेवार छैन, यसका सन्दर्भमा विश्व नवउदारवादी व्यवस्था, विश्व अर्थतन्त्र, विकसित राष्ट्र र पूँजीवादले नियन्त्रण गरेको आर्थिक प्रणालीहरू अझ बढी जिम्मेवार रहेका छन् ।
यस अर्थमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आवश्यक आर्थिक पुनरुत्थान, उत्थानशीलता तथा आर्थिक अवसरहरूको दायरा वृद्धिका लागि आर्थिक र विकास कूटनीतिको हस्तक्षेप आवश्यक पर्दछ । तसर्थ पनि मानव बेचबिखन तथा ओसारपसार कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण सरोकारको विषयको रूपमा रहेको देखिन्छ ।
मानव बेचबिखन तथा ओसारपसारका घटनाको प्रवृत्तिलाई समीक्षा गर्ने हो भने सन् २०१९ को तुलनामा सन् २०२० मा मानव बेचबिखन तथा ओसारपसारका घटनामा ११ प्रतिशतले कमी आएको र यौनशोषणका लागि हुने मानव बेचबिखनका घटनामा २४ प्रतिशतले कमी आएको देखिन्छ ।
यसो हुनुमा अन्तर्राष्ट्रिय पहल बलियो भएर भएको होइन, किनभने ८० प्रतिशितभन्दा बढी मानव बेचबिखन घटनाहरूमा पीडितहरूलाई औपचारिक सीमा नाकाको प्रयोग गरेरै एक देशबाट अर्को देशमा लगिने गरेको अध्ययनले देखाएका छन् । यसका पछाडि, कोभिड महामारीका कारण विश्वव्यापी रूपमा भएको आवागमनको स्थगन हो ।
यद्यपि यौनशोषणका लागि हुने मानव बेचबिखन तथा बालबालिकाको बेचबिखन र ओसारपसारका घटनामा भने अवैध मार्ग, अनौपचारिक नाकाहरू, गैरमानवीय पारवहनहरूको प्रयोग बढी भएको देखिन्छ । सीडीटीसीको तथ्यांक हेर्ने हो भने सन् २००७ देखि सन् २०२२ को अवधिमा बाध्यकारी श्रमका लागि हुने मानव बेचबिखनको घटनाहरूको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइन्छ ।
यसर्थ सीमा नाकाहरूको कडा बन्दोबस्तीले मात्र मानव बेचबिखन तथा ओसारपसार रोकिएको रहेनछ, असुरक्षित आवागमन नै मानव बेचबिखनको संक्रमणका लागि उपयुक्त अवसर रहेछ भन्ने यी तथ्यांकहरूबाट पनि प्रमाणित हुन्छ ।
सुरक्षा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध
माथि उल्लिखित तथ्यहरूबाट मानव बेचबिखन तथा ओसारपसार सुरक्षा कूटनीतिको महत्वपूर्ण विषयको रूपमा स्थापित भइसकेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धमा सुरक्षा कूटनीतिको पक्षलाई संक्षिप्त रूपमा चर्चा गर्नु सान्दर्भिक रहन्छ ।
देशबाहिर रहेका, यात्रामा रहेका आफ्ना नागरिकहरूको संरक्षण, न्याय र अवस्थाको खोजी गर्ने, आवश्यक सहायता उपलब्ध गराउने नैतिक दायित्व सम्बन्धित देशको सरकारको हो
अन्तर्राष्ट्रिय सम्बन्धमा सुरक्षा कूटनीति मूलतः तीनवटा पक्षमा केन्द्रित रहन्छन्स् सीमा तथा सामरिक सुरक्षाको विषय, आन्तरिक सुरक्षाका विषय, नागरिक तथा आर्थिक सुरक्षाका विषयहरू । विश्व राजनीतिक घटनाक्रमहरूमा देखापर्ने द्वन्द्व र शक्ति प्रतिस्पर्धाका क्रममा आफ्नो देशको सीमा सुरक्षा र सामरिक सामथ्र्यका लागि आवश्यक सूचना, ज्ञान, सीप, प्रविधि तथा साधन र जनशक्तिको जोहो गर्नु, सो सम्बन्धमा आवश्यक सहायता जुटाउनु र अन्य सहयोगी देशहरूसँग सहकार्य गर्नु सीमा सुरक्षा र सामरिक सामथ्र्यका लागि गरिने कूटनीतिक अभ्यास हो ।
हाम्रो सन्दर्भमा नेपाली सेना र नेपाल प्रहरीले यस क्षेत्रमा केही भूमिका निर्वाह गरेको पाइन्छ । त्यसैगरी दोस्रो महत्वपूर्ण विषय भनेको आफ्नो देशभित्र सम्भावित द्वन्द्व, वैमनश्यता, अस्थिरता बीजारोपण गर्न सक्ने सम्भावित अन्य देशका सरकारी वा गैरराज्यका हस्तक्षेपहरूलाई उपयुक्त माध्यमबाट नियन्त्रण गर्नु हो ।
विशेषगरी सतर्कता केन्द्र, प्रहरी, प्रशासन र सूचना विश्लेषणका निकायहरूबाट यस प्रकारका जोखिमहरूको पहिचान र आवश्यक प्रबन्ध गर्ने कार्य भइरहेको हुन्छ । तेस्रो नागरिक र आर्थिक सुरक्षा जसमा मूलतः नागरिक निकाय हावी रहन्छ ।
देशबाहिर रहेका, यात्रामा रहेका आफ्ना नागरिकहरूको संरक्षण, न्याय र अवस्थाको खोजी गर्ने, आवश्यक सहायता उपलब्ध गराउने नैतिक दायित्व सम्बन्धित देशको सरकारको हो, साथै आफ्ना जनशक्ति, अर्थ (वित्तीय र गैरवित्तीय दुवै) सम्पत्ति विदेशिनबाट रोक्ने र स्वदेशमै लगानी, उपयोग, उत्पादनशील बनाउने काम यस क्षेत्रको हो ।
यस्तै विदेशमा रहेका सक्षम, दक्ष, अनुभवी जनशक्ति तथा प्रविधि स्वदेश भित्र्याई उपयुक्त आर्थिक अवसरहरू सृजना गर्ने, विश्व अर्थ व्यवस्थाका कारण आन्तरिक बजारमा हुनसक्ने मूल्य वृद्धि नियन्त्रण र व्यवस्थापन गर्न आवश्यक अन्तर्राष्ट्रिय सहायता, समर्थन र सहकार्य जुटाउने कार्य नागरिक सुरक्षा कूटनीतिको विषय हो ।
मानव बेचबिखन तथा ओसारपसारबाट पीडित तथा प्रभावित, जोखिममा रहेकाहरूको संरक्षण, रोकथाम र न्यायका लागि उपयुक्त द्विपक्षीय वा बहुपक्षीय व्यवस्थाहरू गर्नु र सो अनुसारका संयन्त्रहरूको प्रभावकारी परिचालन गर्नु मानव बेचबिखन नियन्त्रणमा नागरिक सुरक्षा कूटनीतिको महत्वपूर्ण कार्य हो ।
संवैधानिक र कानुनी मार्गदर्शन
नेपालको संविधानले बेचबिखन, ओसारपसार, बाध्यकारी श्रमबाट सुरक्षित रहने र उपयुक्त क्षतिपूर्ति सहितको न्यायको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । राष्ट्रिय हितको सन्दर्भमा आर्थिक विकास र अवसर, सुरक्षाका विषयलाई उत्तिकै महत्वका साथ समावेश गरेको छ । त्यसैगरी राज्यको परराष्ट्र सम्बन्धी नीति नागरिक सुरक्षा, आर्थिक र विकास कूटनीति केन्द्रित रहने उल्लेख गरेको छ ।
नेपालको परराष्ट्र नीतिले पनि मानवीय सुरक्षा, मानव बेचबिखन तथा ओसारपसारको सम्बोधन र नियन्त्रण, नागरिक सुरक्षा, विश्व शान्ति, युद्धको अन्त्य, असंलग्नता, पर्यावरण संकट र संरक्षणका विषयहरूलाई राज्यको नीतिको रूपमा अंगीकार गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, वैदेशिक रोजगार ऐन, यी ऐनका नियमावली र सो अनुरूप जारी गरिएका कार्यविधि तथा निर्देशिकाहरूले विदेशमा कानुनी प्रतिनिधित्व र नागरिक सुरक्षालाई सरकारले स्वीकार गरेको देखिन्छ ।
तर व्यावहारिक रूपमा हाम्रो कूटनीतिक निकायहरूले मानव बेचबिखन तथा ओसारपसारको मुद्दालाई आफ्नो द्विपक्षीय र बहुपक्षीय कूटनीतिक संवाद र पहलहरूमा प्रभावकारी ढंगले अघि ल्याउन सकिरहेको देखिंदैन ।
यसो हुँदा मानव बेचबिखन तथा ओसारपसारका विषयलाई मूलतः आन्तरिक गरिबी, चेतनाको कमी र हाम्रै सुरक्षा प्रशासन तथा न्यायिक निकायको कमजोरीको रूपमा बुझ्ने र यसको अन्तर्राष्ट्रिय सम्बन्धको पक्षलाई बेवास्ता गर्ने प्रवृत्ति कायम रहन गएको छ ।
मानव बेचबिखन तथा ओसारपसार, यसका मूलभूत कारण र पीडितहरूको हकअधिकारलाई विश्वव्यापी सवालको रूपमा स्थापित गरी सोही अनुसार जिम्मेवार अन्य देश र मानव बेचबिखनको अर्थ प्रणालीबाट लाभान्वित देशहरूलाई उत्तरदायी बनाउनेतर्फ हाम्रो ध्यान जान सकिरहेको छैन ।
मानव बेचबिखन प्रभावित र उच्च जोखिमको मुलुक भएका कारण नेपालले मानव बेचबिखन तथा ओसारपसारका विषयमा सुरक्षा कूटनीतिको प्रयोग र परिचालनलाई जोड दिनु आज सान्दर्भिक र प्रभावकारी हुन सक्दछ ।
अर्कोतर्फ कूटनीतिक नियोग, त्यहाँ तैनाथ कर्मचारी र कूटनीतिज्ञहरू मानव बेचबिखन तथा ओसारपसारको सवालमा आफ्नो भूमिकाको बारेमा या त अनभिज्ञ छन्, या बेवास्ता गरिरहेका छन् वा यो सवाल उठाउने कूटनीतिक क्षमता र सामथ्र्य राखिरहेका छैनन् ।
कूटनीतिक नियोगमा श्रम सहचारी र केही नियोगमा सुरक्षा सहचारीको तैनाथ गरिए पनि तिनीहरूको कार्य सम्पादनबाट मुलुकले नागरिक सुरक्षाका लागि आवश्यक समन्वय र सहकार्यमा कति लाभ लिन सक्यो भन्ने उपयुक्त मूल्यांकन सार्वजनिक भएको देखिंदैन ।
मुलुकभित्रै पनि मानव बेचबिखनलाई एक मन्त्रालयको विषय बनाएर अन्य मन्त्रालय आँखा चिम्लने वा अन्य मन्त्रालयलाई यस क्षेत्रमा सम्बन्धी मन्त्रालयले प्रभावकारी भूमिकाको निम्ति आमन्त्रण नगर्ने प्रवृत्ति पनि कायमै देखिन्छ । अर्थात् आन्तरिक अन्तरमन्त्रालय समन्वय र सहकार्यको अभावमा एकीकृत कूटनीतिक पहल आवश्यक पर्ने नागरिक सुरक्षा, आर्थिक कूटनीति केवल सैद्धान्तिक छलफलको शास्त्रीय विषय बन्न पुगेको छ ।
सुरक्षा कूटनीतिको प्रयोग र परिचालन
यद्यपि उपयुक्त काम गर्न कहिल्यै ढिलो हुँदैन । यस अर्थमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा कूटनीतिको प्रयोग र परिचालन गर्न अझै पनि सान्दर्भिक र उपयोगी नै रहेको छ । भर्खरै ब्राजिलमा सुरक्षा नियन्त्रणमा पुगेका १०० भन्दा बढी नेपालीको समाचारबाट पनि यो पुष्टि हुन्छ ।
सुरक्षा कूटनीतिको प्रयोग र परिचालनका लागि कूटनीतिक नियोगहरूको परिचालन, राजनीतिक भेटवार्ताहरू, सुरक्षा सहकार्य, ट्रयाक टु कूटनीति र आर्थिक तथा विकास कूटनीतिको एकीकृत प्रयोग गरिनु जरूरी हुन्छ ।
कूटनीतिक नियोगहरूको परिचालनका सन्दर्भमा विदेशस्थित कूटनीतिक नियोगमा तैनाथ हुने राजदूत, कर्मचारी, सुरक्षा सहचारी र श्रम सहचारीलाई मानव बेचबिखनका जोखिम र सम्भावित पीडितहरूको हकअधिकार गन्तव्य मुलुकको दायित्वका विषयमा विद्यमान अन्तर्राष्ट्रिय मान्यता र कानुनहरूका विषयमा आफ्ना नागरिक र प्रभावित मुलुकको न्यायका लागि आवश्यक कूटनीतिक पहलका विषयमा प्रशिक्षित गर्ने, कार्यसम्पादन मूल्यांकनका विषय बनाइनु उपयुक्त हुन्छ ।
राजनीतिक तहमा हुने उच्चस्तरीय भ्रमण र भेटवार्ताहरूमा सुरक्षा, आर्थिक र विकास कूटनीतिका राष्ट्रिय सरोकारहरू, पर्यावरण संरक्षण, युद्ध र सैन्यकरणका विरुद्धमा, शान्तिका पक्षमा, कूटनीतिक सरोकार र चासो व्यक्त गर्नका लागि राष्ट्रिय प्रस्तावका विषयमा समावेश गरिने प्रचलनलाई स्थापित गरिनुपर्दछ ।
सुरक्षा सहकार्य विशेषगरी दुई देशका प्रहरी, न्यायिक निकायहरू बीचको सहकार्य, समन्वय र सूचना आदानप्रदानका विषयलाई समावेश गर्नु जरूरी हुन्छ । यसका लागि यी निकायहरू बीच सम्बन्ध स्थापना, सूचना आदानप्रदानको सहजीकरणका लागि कूटनीतिक नियोगहरूको भूमिकालाई प्रवद्र्धन गरिनु जरूरी छ ।
यसका बाबजुद जनसंगठनहरू बीचको सहकार्य, नागरिक समाजहरू बीचको समन्वय र सूचना आदानप्रदान, व्यावसायिक संस्थाहरू बीचको सम्बन्ध स्थापनालाई राज्यले प्रवद्र्धन गर्ने र ती संस्था र समूहहरू बीचको सहकार्यलाई राज्यका तर्फ बाट आवश्यक मार्गदर्शन, परामर्श र नियमित जानकारी गर्ने–गराउने । गैरआवासीय नागरिक संस्थाहरूको परिचालनका लागि आवश्यक पहलकदमी राज्यका तर्फबाट गरिनु उपयुक्त हुन्छ ।
मानव बेचबिखन तथा ओसारपसार अन्त्य आज विश्वको साझा समस्या र चुनौतीको रूपमा रहेको छ । मानव बेचबिखन प्रभावित र उच्च जोखिमको मुलुक भएका कारण नेपालले मानव बेचबिखन तथा ओसारपसारका विषयमा सुरक्षा कूटनीतिको प्रयोग र परिचालनलाई जोड दिनु आज सान्दर्भिक र प्रभावकारी हुन सक्दछ ।