वीरगञ्ज । वीरगञ्ज लेडिज सर्कल ३ ले वीरगञ्ज कपडा बैंकलाई महत्त्वपूर्ण कपडा सहयोग प्रदान गरेको छ। सर्कलकी अध्यक्ष खुसबु सिंघानियाको नेतृत्वमा अनामिका पुजारी, निधि जाटिया, नेहा अग्रवाल, श्वेता अग्रवाल, मौसम भंगर, र स्वाती धानितियाले तीन कार्टुन, दुई झोला र दुई ब्याग कपडा वीरगञ्ज कपडा बैंकको कार्यालयमा हस्तान्तरण गरेका हुन्। कपडाहरू बैंकका अध्यक्ष लालबाबु सिंहलाई प्रदान गरिएको थियो।
सो कार्यक्रममा बैंकका उपाध्यक्ष मोनिका सिंह, सदस्य युवा अभियन्ता नवराज भट्टराई, र कार्यालय सहयोगी शोभा देवीलगायत सहभागी थिए।
सर्कलका अध्यक्ष खुम्बु सिंघानियाले भनिन्, ‘वीरगञ्ज कपडा बैंकले विगत केही वर्षदेखि दिन दुखी, असहाय, आगलागी र बाढी पीडितहरूको सेवामा सक्रिय रूपमा निस्वार्थ सहयोग गरिरहेको छ, जसप्रति हामी अत्यन्त खुसी छौँ। सर्कलले आगामी दिनहरूमा पनि कपडा बैंकलाई निरन्तर सहयोग गर्नेछ।’
बैंककी उपाध्यक्ष मोनिका सिंहले कपडा बैंकको मूलमन्त्र ‘तपाईँसँग धेरै छ भने दिनुस्, आवश्यकता छ भने लैजानुस् भन्ने भावनालाई आत्मसात् गर्दै कपडा बैंकले स्थापना भएको ६ वर्षदेखि पर्सा र बाराका केही स्थानमा सेवा प्रदान गर्दै आइरहेको बताइन्। साथै, सर्कलका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै आगामी चाडपर्व र जाडोको मौसमलाई मध्यनजर गरी थप न्यानो कपडा र कम्बलहरू सहयोग गर्न आग्रह गरिन्।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले वीरगञ्ज लेडिज सर्कलले विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्दै महिलाहरूको सशक्तीकरण र असहायहरूको सेवामा सक्रिय भूमिका निभाएकोमा खुसी व्यक्त गरे। साथै, आगामी दिनहरूमा सर्कलको निरन्तर सहयोगको आशा राख्दै विपन्नहरूको लागि कपडा सहयोग गरेकोमा बैंकको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरे।