थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पुगेको मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मको केही हलले बुकिङ समेत खुलाइसकेका छन्। देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई उत्साहजनक शो दिएको छ।
बुधबार सार्वजनिक तालिकामा क्युएफएक्स चेनमा मात्रै फिल्मले पहिलो दिनका लागि ४७ शो पाएको छ। काठमाडौंमा २८ र बाहिर १९ शो पाएको हो।
अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्। यो फिल्मको गत आइतबार काठमाडौंमा गरिएको प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यप समेत सहभागी थिए।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ।
अभिनेत्री थिन्लेले यो फिल्मबाट विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ुबोक्कालिनो डिओरु अवार्ड जितेकी छन्। यो दक्षिण एसियाली कलाकारले पहिलोपटक पाएको अवार्ड हो।
फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरेको छ। ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमानलाई खोज्न दोस्रो श्रीमानसँग यात्रामा जान्छिन्।
सांसारिक खोजको रूपमा सुरू भएको यो यात्रा कसरी आत्मज्ञान र मुक्तिको बाटोमा रूपान्तरण हुन्छ भन्ने नै ‘शाम्बाला’ को कथा हो। नेपाल प्रदर्शनपछि थुप्रै देशमा फिल्म प्रदर्शनमा आउनेछ।
फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।