गए रातिदेखि लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ।
मनसुन सक्रिए भएसँगै भदौ २७ गते राति १ बजेदेखि सुदूरपश्चिमका अधिकांश भूभागमा वर्षा भइरहेको छ। महाकाली, कर्णाली लगायत नदी तथा खोलामा पानीको सतह बढेको छ।
डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीमा पानीको सतह ८.७६ मिटर पुगेको छ। यो केन्द्रमा खतराको तह ६.५ मिटर हो।
त्यस्तै, कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीमा पानीको सतह ४.२ मिटर पुगेको छ। यहाँ पानीको सतह चार मिटर पुगेपछि खतरा तह मानिन्छ। जल तथा मौसम विज्ञान विभागले दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा रहेको जनाएको छ।
महाकाली नदीमै डडेल्धुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको छ। यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह आठ मिटर मानिन्छ। यहाँ पानीको सतह ७.३२ मिटर पुगेको छ।
कैलालीको खुटिया नदीले पनि जल सतर्कता तह पार गरेको छ। मुडीभर जलमापन केन्द्रका अनुसार जलसतह बढ्दो क्रममा छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका बासिन्दालाई शनिबार बिहान ९ बजेसम्म सचेत रहन आग्रह गरिएको छ।
कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीले ९९ परिवार विस्थापित छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ९९ परिवारका ४४४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
भीमदत्त राजमार्गमा पहिरो
निरन्तरको वर्षाका कारण आएको पहिरोले पहाडी पाँच जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध छ। जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध छ। गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि केआई सिंह राजमार्ग पूर्ण रूपमा ठप्प भएको हो।
यस्तै, आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ।
पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते
गए राति घरमाथि खसेको पहिरोमा पुरिएर डोटीको बड्डीकेदार गाउँपालिका–४, टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र ४० वर्षीय भागरथी जेठारा घाइते छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार गए राति सुतिरहेका वेला पहिरो खसेको थियो। स्थानीय बासिन्दाले पहिरोबाट निकाले पनि भागरथीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।